मन्त्री थकाली केमा भए आशावादी ?

काठमाडौँ, १८ जेठ । वाणिज्यमन्त्री रोमी गौचन थकालीले २०७२ सालको भूकम्पपछि बन्द रहेको कोदारी राजमार्ग शीघ्र सञ्चालन हुनेमा आफू आशावादी रहेको बताउनुभएको छ ।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले छिमेकी चीनसँगको तातोपानी नाका पुनः सञ्चालन गर्न चीन अत्यन्त सकारात्मक रहेको जानकारी दिँदै त्यस सम्बन्धमा शीघ्र निष्कर्षमा पुगिने बताउनुभयो ।

त्यहाँ निर्माणाधीन सुक्खा बन्दरगाहको अवरुद्ध काम द्रुत गतिमा भइरहेको र भूकम्पजस्ता प्राकृतिक विपत्तिबाट फेरि उक्त बन्दरगाहमा क्षति नपुगोस् भन्ने हेतुले प्रतीरक्षात्मक पर्खाल निर्माण भइरहेको जानकारी उहाँले दिनुभयो ।

“रसुवागढी नाकामा सुक्खा बन्दरगाह निर्माणका लागि जग्गाको मुआब्जा वितरण पूरा भई बन्दरगाहको विस्तृत प्रारुप बनाउन थालिएको छ,” नेपाल–चीन व्यापार वृद्धि तथा त्यससँग सम्बन्धित कामलाई मन्त्रालयले उच्च प्राथमिकताका साथ अघि बढाएको जानकारी दिँदै मन्त्री थकालीले भन्नुभयो ।

रसुवागढी बन्ने उक्त बन्दरगाहसम्बन्धी सहमतिपत्र परराष्ट्र मन्त्रालय पठाइसकिएको र उक्त मन्त्रालयले चीनसँग थप छलफल गरी चाँडो टुङ्गो लगाउने उहाँले बताउनुभयो ।

व्यापार सहजीकरण तथा व्यापार पूर्वाधार निर्माण, सूचना प्रणालीमा आधारित व्यापार प्रणालीको विकास, वस्तु विकास तथा निर्यात प्रवद्र्धन, अनुसन्धान एवम् विकास, द्विपक्षीय, क्षेत्रीय तथा बहुपक्षीय व्यापार प्रवद्र्धनलगायत झन्डै १० महिनाको अवधिमा मन्त्रालयले सम्पादन गरेका कामबारे जानकारी दिँदै मन्त्री थकालीले सरकारी संरचना र संयन्त्रलाई आधुनिकीकरण गर्दै अघि बढेमा राष्ट्र निर्माणको लक्ष्य हासिल गर्न सकिने बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here