काठमाडौं,२४ साउनःसिरहाको मिर्चैया–३ को तीनगछियामा राजाराम सव मनि ट्रान्सफरका सञ्चालक राजाराम साहको साथबाट २५ लाख रुपैयाँ लुटिएको छ । इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी दिपेन्द्र साहका अनुसार ग्लोबल आइएमइ बैंकबाट २५ लाख ६० हजार नगद लिएर मोटरसाइकलमा कल्याणपुरतर्फ जाँदै गरेका तीनगछियामा लुटिएका हुन ।
मध्यान्ह १२ बजेतिर २ वटा मोटरसाइकलमा आएका ४ जना समूहले साहलाई घेरेर पेस्तोल देखाउँदै नगद लुटेको डिएसपी साहले जानकारी दिनुभयो । सिरहाको कल्याणपुर नगरपालिका ११ मा साहको मनि ट्रान्सफर सञ्चालित छ । गत असार ११ गते कल्याणपुरस्थित शिवम मनि ट्रान्सफरका कर्मचारी धनबीर यादव पनि सोही स्थानबाट लुटिएका थिए ।
ग्लोबल आइएमइ बैंकबाट रकम निकालेर लैजाने क्रममा उनको साथमा रहेको ११ लाख ३९ हजार रुपैयाँ लुटिएको थियो । नगद लुटिएको डेढ महिना बित्तिसक्दासमेत प्रहरीले लुटेरा पक्राउ गर्न नसकेको प्रति कल्याणपुर क्षेत्रका व्यावसायी आक्रोशित छन् । सोही स्थानमा आज दोस्रो पटक लुटपाट हुँदा स्थानीय समेत त्रसित छन् । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

