सिन्धुपाल्चोक, ४ जेठ– सामान्य विवादमा बांगेमुढामा एक युवकले साथीको हत्या गरेका छन्। मदिराको नशामा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–६ पुरानोबजारका ‘लम्बु भाइ’ भन्ने २३ वर्षीय भूषण श्रेष्ठले ललितपुर–७ पिलाछेँका १९ वर्षीय आतिश तामाङको हत्या गरेको खबर आजको नयाँपत्रिकामा छ।
समाचारअनुसार प्रहरीले मंगलबार श्रेष्ठलाई पक्राउ गरेको छ। गत सोमबार राति साढे ११ बजे श्रेष्ठले तामाङको हत्या गरेको प्रहरीले जनाएको छ। महागनरीय अपराध महाशाखाका अनुसार दुवै जनाले मदिरा पिएका थिए।
पिपुल्स क्याम्पसमा अध्ययरत श्रेष्ठ कलेजका साथीहरूसँग मदिरा पिएर कोठा फर्कंदै थिए। बांगेमुढा चोकमा उनले तामाङ र राजन पुरीबीच झगडा भइरहेको देखे। विवादपछि पुरीले तामाङलाई ‘लम्बु भाइ, यो मान्छेले के भन्दै छ हेर् न’ भन्दै घरतर्फ लगे। श्रेष्ठ पनि वास्ता नगरी आफ्नो घरतर्फ लाग्दै थिए। त्यही बेला तामाङले श्रेष्ठलाई रोकेर गालामा एक झापड हाने।
त्यसपछि उनीहरूबीच घम्साघम्सी भएको थियो। मुक्का हानाहान हुँदा श्रेष्ष्ठको नाकबाट रगत आयो। त्यसपछि उनले साँचोको झुप्पामा रहेको चुक्का निकालेर तामाङलाई हानेका थिए। घाइते बनाएपछि उनी साथीको डेरामा गएर बसेका थिए। स्थानीय देखेर तामाङलाई उपचारका लागि वीर अस्पताल पुर्याएकोमा त्यहाँ उनको मृत्यु भएको थियो।
महानगरीय अपराध महाशाखाका एसपी प्रकाशजंग कार्कीले दुवै जना पहिलेदेखि नै साथी भएको बताए। मदिरा र रिसको आवेगमा हत्या भएको महाशाखाका डिएसपी दीपक रेग्मीको भनाइ छ।

