मतदान अधिकृतहरुको लागि प्रशिक्षक प्रशिक्षण तालिम सुरु

काठमाडौं,१८ कार्तिक– निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा मुलुकका विभिन्न क्षेत्रमा खटिने मतदान अधिकृतहरुको लागि प्रशिक्षक प्रशिक्षण तालिम दिएको छ ।

विशेष गरेर मतदाता शिक्षाको साथै वदर मतको संख्यामा कमि ल्याउनका लागि आयोगले मतदान अधिकृतहरुलाई प्रशिक्षण गरेको हो । आयोगमा आज आयोजित प्रशिक्षक प्रशिक्षण कार्यक्रममा विशेष गरेर मत कसरी खसाल्ने भन्ने सन्र्दभमा नै आयोगले मतदान अधिकृतहरुलाई सूचित गरायो ।

निर्वाचन अधिकृतलाई प्रशिक्षण दिदै निर्वाचन आयुक्त नरेन्द्र दाहाले तीन मतपत्रमा चार वटा छाप लगाउनुपर्ने भएकाले मतदाता अल्मलिन सक्ने तर्फ मतदान अधिकृत विशेष सचेत हुनुपर्ने उल्लेख गर्नुभयो ।

हिमाली तथा उच्च पहाडी क्षेत्रका ३२ जिल्लाहरूमा मंसिर १० गते पहिलो चरणमा र बाँकी ४५ जिल्लाहरूमा दोस्रो चरणमा मंसिर २१ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन
हुदैछ ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको पहिलो र दोस्रो चरणमा निर्वाचनका लागि मनोनयन दर्ता सकिएसँगै दलहरु चुनावी प्रचारप्रसारमा जुटेका छन् । पहिलो चरणमा हुने निर्वाचनका लागि गत ५ गते मनोनयन दर्ता गरेका क्षेत्रमा दलहरुले घरदैलो अभियान तथा भेलालाई तीव्रता दिएका छन् भने दोश्रो चरणको निर्वाचनका लागि मनोनयन दर्ता गरेका क्षेत्रमा पनि दलहरु प्रचारप्रसारमा जुटेका हुन् ।
पहिलो चरणमा मंसिर १० गते निर्वाचन हुने ३२ जिल्लाका प्रतिनिधिसभा तर्फ ३७ र प्रदेश तर्फ ७४ निर्वाचन क्षेत्रमा दलहरुको चुनावी प्रचार तीब्र बनेको छ । दोस्रो चरणमा मंसिर २१ गते हुने निर्वाचनका लागि भने निर्वाचन आयोगले अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिन्ह उपलब्ध गराएपछि प्रचार तीव्र पार्ने दलहरुको तयारी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here