मतदान अधिकृतदेखि सहयोगीसम्म महिला

इलाम, ११ असार । स्थानीय तहको निर्वाचनमा इलामका चारवटा मतदान केन्द्रमा महिला कर्मचारी खटाइएको छ । इलाम नगरपालिका–७ स्थित आदर्श आधारभूत विद्यालय, सोही नगरपालिकाको भगवती मावि, र इलाम विद्यामन्दिर र माई जोगमाई गाउँपालिकाको अमरकल्याण मावि नयाँबजारमा मतदान अधिकृतदेखि सहयोगीसम्म महिलालाई खटाइएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

निर्वाचन केन्द्र महिलामैत्री र नमुनाका बनाउन महिलाकै नेतृत्वमा निर्वाचन सम्पन्न गर्न महिलालाई परिचालन गरिएको सहायक निर्वाचन अधिकृत जगदीश्वर भट्टराईले जानकारी दिनुभयो ।

महिला कर्मचारी परिचालन भएका मतदान केन्द्रमा सहायक मतदान अधिकृत, दुईजना सहायक कर्मचारी र दुईजना सहयोगी पनि महिला नै नियुक्ति गरिएको छ ।

जिल्लाको सबैभन्दा टाढा रहेको अमर कल्याणमा निर्वाचन सम्पन्न गर्ने दृढताका साथ लाग्नुभएकी मतदान अधिकृत विमला मिश्रले भन्नुभयो, “पुरूषले गर्न सक्ने काम हामी महिलाले चाहिँ किन गर्न नसक्ने, सहज र सौहार्दपूर्ण वातावरणमा निर्वाचन गर्नु मेरो दायित्व हो ।”

चार नगरपालिका र छवटा गाउँपालिका रहेको इलाममा एक लाख ८९ हजार २७४ मतदाता छन् । सबै मतदान केन्द्रमा शनिबारै कर्मचारी पुगिसकेका र आजदेखि मतदाता परिचयपत्र वितरणको काम सुरु हुने जनाइएको छ ।
चार सञ्चारकर्मी प्रतिस्पर्धामा

आसन्न दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा इलामबाट चारजना सञ्चारकर्मी चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।सदरमुकामस्थित सामुदायिक रेडियो नेपालवाणी एफएममा कार्यरत सङ्गीता थामीले नेकपा (माओवादी केन्द्र)को माई जोगमाई नगरपालिकाबाट उपाध्यक्षमा पदमा उम्मेदवारी दिनुभएको छ । अल्पसङ्ख्यक थामी समुदायको पहिलो उम्मेदवार हुनुहुन्छ ।
अनुशासन र लगनशीलताकै कारण आफ्नो हातमा जित हात पर्ने दाबी गर्दै उहाँले भन्नुभयो, “थामी समुदायको आफ्नै भाषा, संस्कृति एवम् पहिचान छ । पछिल्लो समय उक्त समुदायको पहिचान मेटाउने प्रयास भएकाले मैले उम्मेदवारी घोषणा गरेकी हुँ ।”

जिल्लाको रोङ गाउँपालिका अध्यक्षमा नवराज कट्टेलले माओवादी केन्द्रबाटै उम्मेदवारी दिनुभएको छ । विगत १२ वर्षदेखि विराटनगरमा बसेर पत्रकारिता गर्दै आउनुभएका उहाँ पनि उम्मेदवारीका पछि गाउँ–गाउँमा मत माग्न व्यस्त हुनुहुन्छ । नेपाल पत्रकार महासङ्घ मोरङ शाखामा दुुई कार्यकाल सचिवसमेत भइसक्नुभएका कट्टेल आफूले जित्ने दाबीका साथ चुनावी प्रतिस्पर्धामा लागेको बताउनुहुन्छ ।

इलाम नगरपालिका–५ वडाध्यक्षमा अर्का पत्रकार ठाकुुर श्रेष्ठले उम्मेदवारी दिनुभएको छ । नेकपा (एमाले)का तर्फबाट उम्मेदवारी दिनुभएका उहाँ नेपाल पत्रकार महासङ्घ इलाम शाखाको कार्यसमिति सदस्य साथै इलाम पोस्ट दैनिक, इलाम आवाज साप्ताहिकमा समेत कार्यरत हुनुहुन्थ्यो । बरबोटेका स्थानीय युुवाले आग्रह गरेपछि वडाध्यक्ष पदमा उम्मेदवारी दिएको उहाँ बताउनुहुन्छ ।
रेडियो फिक्कलमा कार्यरत तथा नेपाल पत्रकार महासङ्घका कोषाध्यक्षसमेत बन्नुभएका जय राईले सूर्योदय नगरपालिका–९ बाट वडाध्यक्षमा उम्मेदवारी दिनुभएको छ । टोलको विकास गर्न र युुवालाई सक्रिय राख्नसमेत आफूले उम्मेदवारी दिएको उहाँ बताउनुहुन्छ । उनीहरूले उम्मेदवारी घोषणा गरेसँगै मतदातासमक्ष मत माग्न व्यस्त छन् । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here