मतदाताको सुरक्षाकालागि ६० हजार सुरक्षाकर्मी परिचालन, विदेशी कूटनीतिक नियोगका प्रमुख,प्रतिनिधि तराईमा

web

काठमाडौं,२ असोज–  सुरक्षा दृष्टिले संवेदनशील मानिएको यो प्रदेशमा ६० हजारभन्दा बढी सुरक्षाकर्मी निर्वाचन सुरक्षाका लागि परिचालन गरिएको छ । निर्वाचनको समग्र पक्षलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था मिलाइएको २ नम्बर प्रदेशका प्रहरी प्रमुख विजयलाल कायस्थले बताउनुभयो ।
कायस्थका अनुसार सीमा क्षेत्रसहित सबै मतदान केन्द्रको विश्लेषण गरी सुरक्षाकर्मी परिचालन गरिएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको एकीकृत सुरक्षा योजनाअन्तर्गत निर्वाचनमा सुरक्षाकर्मी खटाइएको छ ।
मतदान केन्द्रको पहिलो सुरक्षा घेरा नेपाल प्रहरीको हुनेछ भने दोस्रो घेरामा सशस्त्र प्रहरी राखिनेछ । तेस्रो घेराका रूपमा सेनाले गस्ती गर्नेछ ।
यता, आयोगले विदेशी कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिलाई अवलोकन गर्न सक्नेसमेत व्यवस्था गरेको छ । आयोगका अनुसार विदेशी कूटनीतिक नियोगका प्रतिनिधिले प्रदेश नम्बर २ का जनकपुर, बर्दिबास, वीरगन्ज र सिमरामा मतदानको दिन अवलोकन भ्रमण गर्न सक्नेछन् ।
आयोगले निर्वाचन पर्यवेक्षणका लागि ४४ वटा संस्थाका २ हजार १ सय पर्यवेक्षकलाई अनुमति दिएको छ । योसँगै नयाँ संविधानले तय गरेको संघीय संरचनाको एउटा तहको निर्वाचन सम्पन्न हुनेछ ।
राजनीतिक विवाद साम्य नभएका कारण स्थानीय तहको चुनाव चरणबद्ध रूपमा गरिएको हो । यसअघि वैशाख ३१ र असार १४ दुई चरणमा गरी ६ वटा प्रदेशमा चुनाव भइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here