भोली हुने प्रदेश नम्बर २ को निर्वाचनको तयारी पूरा, बिहान ७ देखि अपरान्ह ५ सम्म मतदान गर्न पाउने

काठमाडौं, १ असोज– निर्वाचन आयोगले प्रदेश नम्बर २ मा भोलि हुने स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । प्रदेश २ का १ सय ३६ स्थानीय तहमा नेतृत्व चयनका लागि भोलि हुने निर्वाचनका सम्पूर्ण तयारी भएको हो ।

प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले शान्ति सुरक्षासहित निर्वाचनको सम्पूर्ण व्यवस्थापन दुरुस्त रहेको जानकारी दिनुभयो ।

आवश्यक सुरक्षासहित सबै कर्मचारी मतदान केन्द्र पुगिसकेको, मतदाता परिचयपत्र वितरण कार्य उत्साहसाथ भइरहेको, मतदातालाई सही रुपमा मतसंकेत गर्न सिकाउने कार्य मतदान केन्द्रहरूमा चलिरहेको प्रमुख आयुक्त डा यादवले बताउनुभयो ।

निर्वाचन आयोगका अनुसार प्रदेश २ का सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साका स्थानीय तहमा भोलि बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान समय तोकिएको छ । यस्तै मतदानका लागि ३ हजार ५७७ मतदान केन्द्र कायम गरिएको छ ।

१ महानगर, ३ उपमहानगर, ७३ नगरपालिका र ५९ गाउँपालिका रहेको यो प्रदेशमा २६ लाख ६४ हजार ९ सय ५० मतदाता छन् । मेयर–उपमेयर, अध्यक्ष–उपाध्यक्ष र विभिन्न सदस्य पदका लागि ३७ हजारभन्दा बढी उम्मेदवारी परेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here