६ वटा प्रदेशमा राष्ट्रियसभा निर्वाचन भोलिः कुन प्रदेशमा कसले मार्ला बाजी ?

काठमाडाैं, २३ माघ – भोली हुने राष्ट्रियसभा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन अायाेगले जनाएकाे छ । राष्ट्रियसभा सदस्यका लागि भोलि बिहान १० देखि दिउँसो ३ बजेसम्म हुने मतदानको सम्पूर्ण तयारी पूरा भएको हो ।

मतपत्र छपाइदेखि सुरक्षा व्यवस्था, कर्मचारी खटपटन र व्यवस्थापकीय सबै तयारी पूरा भएको निर्वाचन आयोगको प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार अधिकांश मतदान केन्द्रमा कर्मचारी र मतपत्र पुगिसकेका छन् भने केहिमा आज पुग्दैछन् ।

निर्वाचनमा महिला, दलित, अपांग र अल्पसंख्यक र अन्य समूह गरी चारवटा मतपत्र प्रयोग हुँदै छ । एक मतदाताले चार ठाउँमा भोट हाल्नुपर्नेछ । प्रदेशसभाको लागि हरियो र स्थानीय तहको लागि रातो गरी दुई रङका चार प्रकारका मतपत्र प्रयोग गरिने प्रवक्ता ढकालले बताउनुभयो ।

प्रतिनिधि आ-आफ्नो प्रदेशमा पुग्दै
राष्ट्रियसभा निर्वाचनमा मतदान गर्न मतदाता नामावलीमा नाम रहेका निर्वाचित प्रतिनिधिहरु आ-आफ्नो प्रदेशमा पुगिसकेका छन् ।  निर्वाचनमा प्रदेशसभा सदस्य, नगरपालिकाका प्रमुख–उपप्रमुख र गाउँपालिकाका अध्यक्ष उपाध्यक्षले मतदान गर्न पाउने व्यवस्था छ ।

सबै दलले निर्वाचित प्रतिनिधिलाई तोकिएको मतदान केन्द्रमा पुगेर अनिवार्य रुपमा आफ्ना उम्मेद्वारलाई मतदान गर्न ह्विप समेत जारी गरिसकेको छ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले भोली हुने मतदानमा आफ्ना पार्टीका सबै प्रतिनिधिहरु अाअाफ्ना प्रदेशमा पुगिसकेको बताउनुभयो । यस्तै एमालेले मतदान नसकिए सम्म आफ्नो प्रदेश नछाड्न आफ्ना प्रतिनिधिलाई यस अघि नै सर्कुलर गरिसकेको छ ।

प्रदेश २ मा बाहेक ६ वटै प्रदेशमा भोली मतदान हुँदै छ । प्रदेश २ मा भने यस अघि नै सवै आठै जना निर्विरोध भइसकेका छन् । हरेक प्रदेशमा निर्वाचन केन्द्र तोकेर मतदानका लागि सबै तयारी पुरा गरिसकेको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले बताउनुभयो । राष्ट्रियसभाका लागि प्रदेश १ को विराटनगर, ३ को ललितपुर, ४ को पोखरामा मतदान हुनेछ । यस्तै प्रदेश ५ को घोराही, ६ को विरेन्द्रनगर र ७ नम्वर प्रदेशको दिपायलमा मतदानको सबै व्यवस्था मिलाईएको प्रवक्ता ढकालले बताउनुभयो ।

कुन प्रदेशमा कति मतदाता, कसले मार्ला बाजी ?

प्रदेश नम्बर १ः- स्थानीय तहः प्रदेश नम्बर १ मा स्थानीय तह र प्रदेशसभा दुवैतिर एमालेको एकल बहुमत छ । एमालेले स्थानीय तहमा प्रमुख र उपप्रमुख गरि १५३ जना जितेको छ भने भने प्रदेशसभामा प्रत्यक्षतर्फ ३६ सिट जितेको छ । त्यस्तै समानुपातिकतर्फ एमालेले १५ सिट पाउँदामा ५१ जना मतदाता छन् ।

१ नम्बर प्रदेशबाट एमालेको कुल मतदाता संख्या २०४ छ । जुन कुल मतदाता संख्याको बहुमत हो । १ नम्बर प्रदेशमा माओवादीको मत स्थानीय तहमा २० मात्र छ । प्रदेशसभामा प्रत्यक्ष निर्वाचित १० र समानुपातिक ५ गरि १५ जना मतदाता छन् । माओवादीको कुल मत ३५ समेत थपिँदा बामपन्थी गठबन्धनको पक्षमा २३९ मत हुनेछ ।

कांग्रेसको पक्षमा स्थानीय तहका प्रमख र उपप्रमुख ९७ जना र प्रदेशसभाका प्रत्यक्ष निर्वाचित ८ र समानुपातिक १३ गरि २१ मतदाता छन् । कांग्रेसका कुल मतदाता ११८ रहेका छन् भने संघीय समाजवादी फोरमका स्थानीय तहमा ४ र प्रदेशसभामा ३ गरि ७ जना मतदाता छन् ।

प्रदेश नम्बर ३ः – प्रदेश नम्बर ३ मा स्थानीय तह र प्रदेशसभा दुवै ठाउँमा एमालेको एकल बहुमत छ । वामपन्थी गठबन्धन हुँदा कांग्रेस निकै पछि पर्नेछ । ३ नम्बर प्रदेशबाट स्थानीय तहका प्रमुख र उपप्रमुख गरि एमालेका १३५ मतदाता छन् । त्यस्तै प्रदेशसभातर्फ प्रत्यक्ष निर्वाचित ४२ र समानुपातिक १६ गरि एमालेका ५८ मतदाता हुनेछन् ।

एमालेका कुल मतदाता १९३ हुनेछन् । त्यस्तै माओवादीबाट स्थानीय तहका २६ र प्रदेशसभामा २३ गरी कुल ४८ जना मतदाता छन् । कुल मिलाएर यो प्रदेशबाट वामपन्थी गठबन्धनका २४१ मतदाता हुनेछन् ।

त्यस्तै कांग्रेसका स्थानीय तहका ६२ मतदाता छन् । प्रदेशसभातर्फ प्रत्यक्ष निर्वाचित ७ र समानुपातिक १४ गरि २१ सांसद छन् । कांग्रेसको कुल मतदाता संख्या ८३ हुनेछ । यो प्रदेशबाट विवेकशील, राप्रपा, नयाँ शक्तिका पनि केही मतदाता छन्, जुन निणर्ायक संख्या होइन ।

प्रदेश नम्बर ४ः- प्रदेश नम्बर ४ मा एमाले र कांग्रेसका मतदाता संख्या लगभग बराबरी देखिएको छ । एमालेका स्थानीय तहका ७१ मतदाता छन् । प्रदेशसभातर्फ प्रत्यक्ष निर्वाचित १७ र समानुपातिक १० गरि २७ सांसद छन् । कुल मिलाएर यो प्रदेशमा एमालेका ९८ जना मतदाता छन् ।

माओवादीका स्थायी तहका १२ मात्र मतदाता छन् । प्रदेशसभामा प्रत्यक्ष निर्वाचित ९ र समानुपातिक ८ गरि १७ मतदाता छन् । माओवादीका कुल २९ मतदाता र एमालेका ९८ मिलाउँदा वामपन्थी गठबन्धनको पक्षमा १२७ मत हुनेछ ।

नेपाली कांग्रेसका स्थानीय तहका ८१ मतदाता छन् । प्रदेशसभामा प्रत्यक्ष निर्वाचित ६ र समानुपातिक ९ गरि १५ सांसद छन् । कांग्रेसको कुल मिलाएर ९६ मत हुने यो प्रदेशसमा एकल संक्रमणीयबाट कांग्रेसले एक वा दुई सिट जित्न सक्छ । यस प्रदेशबाट राष्ट्रिय जनमोर्चा र नयाँ शक्तिको पनि केही मतदाता छन् ।

प्रदेश नम्बर ५ः- प्रदेश नम्बर ५ मा स्थानीय तहका प्रमुख र उपप्रमुख गरि एमालेका ९१ मतदाता छन् । त्यस्तै प्रदेशसभातर्फ प्रत्यक्ष निर्वाचित २७ र समानुपातिक १३ समेत ४० जना सांसद छन् । कुल मिलाएर यो प्रदेशबाट एमालेका १३१ मतदाता हुनेछन् ।

त्यस्तै माओवादीका स्थानीय तहबाट ३७ जना मतदाता छन् भने प्रदेशसभातर्फ प्रत्यक्ष निर्वाचित १५ र समानुपातिकबाट ६ जना गरि २१ सांसद छन् । माओवादीको कुल मतदाता संख्या ५८ रहेको छ । यसरी ५ नम्बर प्रदेशमा बामपन्थी गठबन्धनका १८९ मतदाता छन् ।

नेपाली कांग्रेसका स्थानीय तहका प्रमुख र उपप्रमुख गरि ६८ मतदाता छन् ।

प्रदेशसभातर्फ प्रत्यक्ष निर्वाचित ७ र समानुपातिक १२ सहित १९ सांसद छन् । कांग्रेसको कुल मतदाता संख्या ८७ हुनेछ । यो प्रदेशबाट संघीय समाजवादी फोरमको पनि १२ मत हुनेछ । स्थानीय तहका १६ र प्रदेशसभाका ४ गरि फोरमका १६ मतदाता छन् ।

यो प्रदेशसबाट राजपा,राजमो र नयाँ शक्तिका पनि केही मत छन् । तर ती निर्णायक हुने अवस्था छैन ।

प्रदेश नम्बर ६ः- प्रदेश नम्बर ६ मा एमालेको एकल बहुमत छ । स्थानीय तहमा एमालेका ५९ मतदाता छन् भने प्रदेशसभामा २० मतदाता छन् । कुल मिलाएर एमालेको ७९ मत छ । माओवादीको स्थानीय तहमा ५४ र प्रदेशसभामा १३गरि ६७ मत जोड्दा वामपन्थी गठबन्धनको दुई तिहाई बहुमत हुनेछ ।

यो प्रदेशबाट कांग्रेसका स्थानीय तहबाट ४२ मतदाता छन् भने प्रदेशसभाबाट ६ मत जोड्दा ४८ मात्र हुन्छ । यो प्रदेशबाट राष्ट्रियसभामा कांग्रेसको प्रतिनिधित्व हुने सम्भावना कम छ ।

प्रदेश नम्बर ७ः- ७ नम्बर प्रदेशमा एमालेका स्थानीय तहमा ८३ मतदाता छन् । प्रदेशसभामा प्रत्यक्ष निर्वाचित १७ र समानुपातिक ८ गरी एमालेका २५ मतदाता छन् । कुल मिलाएर एमालेका १०८ मतदाता हुनेछन् । माओवादीका स्थानीय तहमा १९ र प्रदेशसभामा १९ गरि ३८ मतदाता छन् । वामपन्थी गठबन्धनको यहाँ पनि बहुमत हुनेछ ।

कांग्रेसका स्थानीय तहमा ७४ मतदाता छन् भने प्रदेशसभामा प्रत्यक्ष निर्वाचित ४ र समानुपातिक ८ गरी १२ जना मतदाता छन् । कांग्रेसको मत कुल मिलाएर ८६ हुनेछ । यहाँ कांग्रेसले एकल संक्रमणीयबाट एक दुई सिट जित्न सक्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here