भोट हाल्न गाउँ फर्कँदै मतदाता

काठमाडौं, २८ बैशाख–    आइतबार हुने पहिलो चरणको स्थानीय तह निर्वाचनका लागि गृह जिल्ला फर्किने मतदाताको नयाँ बसपार्क र कलङ्कीमा भीड बढेको छ ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ अध्यक्ष डोलराजका खनालले पहिलो चरणमा चुनाव हुने जिल्लाका मतदाता घर फर्किन थालेपछि तीन÷चार दिनदेखि बसपार्कमा भीड बढेको जानकारी दिनुभयो ।  खनालले भन्नुभयो, अहिले सामान्य बेलाभन्दा बढीले यात्रा गरिरहनुभएको छ ।
घर जाने यात्री बढे पनि दसैँमा जस्तै अस्तव्यवस्त भने नभएको खनालले जानकारी दिनुभयो ।  घर जाने बढेका छन्, आइतबारको चुनावका लागि शनिबारसम्म घर जाने हुन्छन्, उहाँले बताउनुभयो ।  सोमबार साँझ मतदान गर्न म्याग्दी जान परिवारसहित कलङ्कीमा पुग्नुभएका रमेश थापामगर बसको टिकट नपाएर पुन कोठामै फर्किनुभयो ।
‘एक्लै भएको भए त जसरी पनि जानहुन्थ्यो, तर बालबच्चा र बुढी आमा हुनुहुन्छ, सिट पाइएनन्, भोलि बेलुका लागि टिकट लिएर फर्किन्छु’, सामान्य अवस्थामा जस्तै टिकट पाइन्छ भनेर कलङ्की आइपुग्नुभएका उहाँले भन्नुभयो, ‘बीस वर्षपछि बल्ल बल्ल हुन लागेको स्थानीय तहको निर्वाचनका लागि भोट दिन त जसरी पनि जानुपर्छ । ’
यस्तै बाग्लुङ हुदिशिरकी बिजुला सुवेदी दुई छोराछोरीसहित मतदानका लागि घर जान कलङ्कीमा मङ्गलबार बस कुर्दै हुनुहुन्थ्यो ।  चार दिनपहिले टिकट लिएकी सुवेदीले भने यस्तै भीड हुन्छ भनेर पहिल्यै टिकट लिएको बताउनुभयो ।  छोराछोरीको पढाइका लागि राजधानीमा बस्दै आउनुभएकी सुवेदीले भन्नुभयो, ‘घरमा जेठानी वडा सदस्यको उम्मेदवार हुनुहुन्छ, त्यसैले पनि नगई भएन ।
मङ्गलबारदेखि चुनावका लागि गाउँ जानेको सङ्ख्या अझै बढ्ने यातायात व्यवसायीले जनाएका छन् ।  सरकारले चुनावका लागि सबै शैक्षिक संस्था सात दिन बिदा दिएकाले बालबच्चासहित धेरै जना गाउँ जाने सुरसारमा छन् ।  जागिरवाला पनि बिदा लिएर २७ गतेदेखि नै निर्वाचनमा जाने तयारीमा छन् ।  पहिलो चरणको निर्वाचनका लागि झन्डै १० लाख मानिस काठमाडौँबाट बहिरिने अनुमान यातायात व्यवसायीको छ ।

अहिले बागलुङ, पर्वत तनहुँ, स्याङ्जा, म्यादी, नुवाकोट, धादिङ, काभ्रे, सिन्धुपाल्चोक, मकवानपुरलगायत जिल्लामा जाने यात्रुको सङ्ख्या धेरै छ ।  यस्तै चुनावका लागि गाउँ जान धेरैजसोले बस रिजर्भ नै गर्ने गरेका छन् ।  यसरी बस रिजर्भ गर्दा अरु बेलामा जस्तो टिकट काटेर क्युमा रहेका बस पाउन भने कठिन भएको यात्रुले गुनासो गरेका छन् ।
बस नै नपाएर भोट दिनलाई गाउँ जान नपाइने भन्ने हुँदैन त्यसमा ढुक्क हुन यात्रुलाई आग्रह गर्दै महासङ्घका अध्यक्ष खनालले आवश्यकताअनुसार बस थपेर भए पनि चुनावका बेला यात्रुलाई सहज सेवा दिन सबै यातायात व्यवसायीलाई आग्रह गरिसकेको जानकारी दिनुभयो ।
नागढुङ्गा ट्राफिक प्रहरीका अनुसार केही दिनयता चुनावका कारण राजधानीबाट बाहिरिने यातायातको सङ्ख्या बढेको छ ।  बसको सिटभन्दा बढी यात्रु नबोक्न र सिट भरिएका बसमा यात्रा नगर्न आग्रह गरेको पनि नागढुङ्गा ट्राफिक प्रहरीले  जनाएको छ । आजको गोरखापत्रमा खबर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here