काठमाडौं,३ बैशाख । राष्ट्रिय गौरवको भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको सुरुङको ‘ब्रेक थू’ आज हुने भएको छ । ‘ब्रेक थू’ को औपचारिक घोषणा गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान ११ बजे आयोजना स्थल जादै हुनुहुन्छ ।
०७४ कार्तिक मसान्तदेखि नेपालमै पहिलो पटक टनेल बोरिङ मेसिन (टीबीएम) को प्रयोग गरिएपछि ०७६ चैत १५ सम्म सक्नुपर्ने सुरुङ निर्माण एक वर्ष अगाडि नै पूरा भएको छ । सुर्खेतको भेरीगंगा नगरपालिकाको हात्तीखालदेखि चिप्लेसम्म १२ दशमलव २ किलोमिटर सूरुङ निर्माण गरिएको छ ।
चाइना ओभरसिज इन्जिनियरिङ ग्रुप कम्पनीले २०७६ चैत १५ गते सक्नेगरी नेपाल सरकारसँग सम्झौता गरी सुरुङ निर्माण थालेको थियो । औपचारिक घोषणाका लागि सुरुङको कूल १२ किलोमिटर लम्बाइमध्ये जम्मा दुई मिटर मात्र खन्न बाँकि राखिएको छ ।

