काठमाडौं,२० पुस । भूकम्पबाट प्रभावित गुम्बा, बिहार तथा स्तूपाको संरक्षण, जीर्णद्वार तथा पुनर्निर्माण सम्बन्धी कार्यविधि, २०७५ स्वीकृत गरेको भएको छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यकारी समितिको आज बसेको बैठकले कार्यविधी पारिद गरेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जानकारी दिनुभयो । कार्यविधि पास भएपछि भूकम्पबाट क्षति भएका गुम्बा, बिहार तथा स्तूपाको पुनर्निर्माण, संरक्षण र जीर्णद्वारका लागि बाटो खुला भएको छ ।
पुरातत्व महत्व बोकेका सय वर्षभन्दा पुराना तथा २ हजार वर्ग फिटभन्दा बढी प्लिन्थ एरिया भएका क्षतिग्रस्त गुम्बा, बिहार तथा स्तूपाको पुनर्निर्माण आवश्यकता बमोजिम पुरातत्व विभागको पूर्व स्वीकृति लिइ केन्द्रीय आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पू्र्वाधार)को प्रत्यक्ष संलग्नतामा गरिने उल्लेख गरिएको छ ।
भूकम्पबाट प्रभावित २ हजार वर्ग फिट प्लिन्थ एरियाभन्दा कमका गुम्बा, बिहार तथा स्तूपाको पुनर्निर्माण गर्दा सम्बन्धित उपभोक्ता समितिमार्फत गर्ने कार्यलाई प्रथामिकता दिइने कार्यविधि भनिएको छ । सय वर्ष पुग्न बाँकी रहेको तर,२ हजार वर्ग फिटभन्दा कम प्लिन्थ एरिया भएका गुम्बा, बिहार तथा स्तूपाको संरक्षण, जीर्णद्वार तथा पुनर्निर्माण कार्य स्थानीय तहमार्फत गरिनेछ ।
पुरातत्व महत्व रहेका सय वर्षभन्दा पुराना तथा २ हजार वर्ग फिटभन्दा बढी प्लिन्थ एरिया भएका पूर्ण रुपमा क्षतिग्रस्त गुम्बा, बिहार तथा स्तूपाको पुनर्निर्माणका लागि केन्द्रबाट शत प्रतिशत बजेटको व्यवस्था हुने कार्यविधिमा उल्लेख गरिएको छ ।
सय वर्ष नपुगेका २ हजार वर्ग फिटभन्दा कम प्लिन्थ एरिया भएका गुम्बा, बिहार तथा स्तूपाको हकमा भने पुनर्निर्माण गर्न लाग्ने कूल रकमको ५० प्रतिशत प्राधिकरणले अनुदानको रुपमा सम्बन्धित स्थानीय तहलाई रकम उपलब्ध गराउने छ । बाँकी ५० प्रतिशत रकम भने सम्बन्धित स्थानीय तह र गुम्बा, बिहार तथा स्तूपा व्यवस्थापन समिति अन्तर्गत रहेको उपभोक्ता समितिले जुटाउनु पर्ने व्यवस्था रहेको छ ।
भूकम्बाट क्षति भएका गुम्बाको संख्या १ हजार तीन सय २० छ, जसमध्ये पुनर्निर्माण गर्नुपर्ने गुम्बाको संख्या ८ सय ९५ र मर्मत सम्भार गर्नु पर्ने गुम्बाको संख्या ४ सय २ छ ।

