अति विशिष्ट सुरक्षाःसवारी रिहर्सलका कारण यातायात ठप्प

काठमाडौं,११ भदौंः आसन्न बिमस्टेक सम्मेलनमा सहभागी हुन आउन लागेका अति विशिष्ट व्यक्तिहरूको सवारी व्यवस्थित बनाउन भन्दै ट्राफिक प्रहरीले आज बिहान सडकमा सुरक्षा तयारी गर्दा केहिबेर यातायात प्रभावित भयो ।
सवारी रिहर्सलका क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलदेखि ताहाचलस्थित होटल सोल्टीसम्मको सडक खाली गरि पाँच चरणमा सवारी रिहर्सल गर्दा यात्रुहरु मर्कामा परे ।
सोमबार बिहान ७ बजेदेखि पौने ८ सम्म सडकमा गुड्ने सार्वजनिक तथा निजी सवारीसाधन ठप्प पारेर प्रहरीले विमानस्थलदेखि पाँच चरणमा सवारी रिहर्सल गरेको थियो । सडकमा खटिएका ट्राफिक प्रहरीले ७ लट सवारी हुने भने पनि पाँच लटमात्र सडकमा देखिएको थियो ।
महानगरी ट्राफिक प्रहरी कार्यालयको हेल्पलाइन १०३ का अनुसार ’भीभीआइपीहरूको सवारी सुरक्षित र व्यवस्थित बनाउन स्कर्टिङ डेमो प्रदर्शन गरिएको’ जनाएको छ । रिहर्सलका क्रममा विमानस्थलदेखि सोल्टीमोडसम्मको सडकमा जोडिने सहायक सडकमा गाडीहरू रोकिएका थिए ।मोटरसाइकललाई समेत रोकिएको थियो भने सडकमा पैदल हिँड्नेलाई समेत ट्राफिक प्रहरीले सडकमा आउन दिएका थिएनन् । रिहर्सलका कारण सयौँ सवारी साधन रोकिँदा मानिसहरूको आवागमन प्रभावित भएको थियो ।
नेपाल, भारत, बंगलादेश, भुटान, म्यानमार, श्रीलंका र थाइल्यान्ड सदस्य रहेको अन्तर्राष्ट्रिय संस्था बिमस्टेकको आयोजना अध्यक्ष राष्ट्रका हैसियतमा यसपटक नेपालले गरेको हो । १४ र १५ गते दुई दिन हुने सम्मेलनमा सहभागी हुन सदस्य राष्ट्रका राष्ट्राध्यक्षहरू मंगलबारदेखि काठमाडौं आउँदैछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here