भारतीय रुपैयाँसहित एक व्यक्ति पक्राउ

पर्सा, ६ जेठ– ठूलो परिमाणमा भारतीय रुपैयाँसहित पक्राउ परेका एक व्यक्तिलाई आज पर्सा प्रहरीले सार्वजनिक गरेको   छ ।

प्रहरीले नियमित चेकाजाँचका क्रममा वीरगन्ज महानगरपालिका–१६ रजतजयन्ती चोकमा १२ लाखभन्दा बढी भारतीय रुपैयाँसहित पक्राउ परेका कलैया उपमहानगरपालिका–८ का नगनारायण महतो कोइरीलाई सार्वजनिक गरेको हो ।

सीमावर्ती भारतीय शहर रक्सौलबाट ना ४ प १७७३ नं को मोटरसाइकलमा वीरगन्जतर्फ आउँदै गरेका कोइरीलाई प्रहरीले रजतजयन्ती चोकमा चेकजाँच गर्दा १२ लाख सात हजार ५०० भारतीय रुपैयाँ बरामद गरेको प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिनुभयो ।

कोइरीले बोकेको झोलाबाट प्रहरीले दुई हजार दरको २३५ थान र ५०० दरको एक हजार ४७५ थान भारतीय रुपैयाँ बरामद गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here