काठमाडौं, १२ साउन– चितवनको भरतपुर महानगरपालिका–१९ को पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमाथिको सुनुवाइ आज हुने भएको छ । यसअघि गत ८ गते रिटमाथिको सुनुवाइ भएपनि नसकिएपछि हेर्दाहेर्दैमा राखि आजका लागि लागि तोकिएको हो ।
न्यायाधीशद्वय ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासमा सुनुवाइ हुँदाहुँदै नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो ।
निर्वाचन आयोगकोतर्फबाट महान्यायधिवक्ता रमण श्रेष्ठ, उपमहान्यायधिवक्ता घनश्याम ओझा, सहन्यायधिवक्ता सञ्जीवराज रेग्मीलगायतले मुद्दाको विपक्षबाट बहस गर्दै पुनःनिर्वाचन गराउनुपर्ने तर्क प्रस्तुत गर्नुभएको थियो ।
निवेदकका पक्षबाट आइतबार वरिष्ठ अधिवक्ता रविनारायण खनाल र हरि उप्रेती, अधिवक्ता हरि फुयाँललगायतले प्रतिवेदनमा त्रुटि रहेको भन्दै च्यातिए ९० मतपत्रलाई बदर गरेर पुनः मतगणना गर्नुपर्ने तर्क प्रस्तुत गर्नुभएको थियो ।
मतगणना अन्तिममा पुगेका बेला माओवादी केन्द्रका कार्यकर्ताले ९० मतपत्र च्यातेपछि निर्वाचन आयोगले वडा नं १९ मा पुनःमतदान गर्ने निर्णय गरेको थियो ।
सो निर्णयका विरुद्ध अधिवक्ता तुलसी पाण्डे र वडा नं १९ का नेकपा (एमाले)का उम्मेदवार गुञ्जमान विकले सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो ।

