काठमाडौं, १३ असार–चितवनको भरतपुर महानगरपालिकाको वडा नम्बर १९ को मतपत्र च्यातिएको विषयमा निर्वाचन आयोगको पुनः मतदान गराउने निर्णय विरुद्ध परेको रिटको पुर्ण सुनुवाई आगामी असार २३ गतेका लागि तोकिएको छ ।
मतगणनाका क्रममा च्यातिएका मतपत्र सहित अन्य फाइल झिकाएको सर्वोच्च अदालतले अन्तिम सुनुवाई २३ गतेका लागि तोकेको हो । मतगणनाका क्रममा च्यातिएको भरतपुर महानगरपालिका वडा नम्बर १९ को मतपत्र सहित अन्य सम्बन्धीत कागजात आजै सर्बोच्च ल्याइएको प्रवक्ता महेन्द्रनाथ उपाध्यायले जानकारी दिनुभयो ।
कायममुकायम प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली र न्यायाधीश हरिकृष्ण कार्कीको संयुक्त इजलासले गत असार ६ गते च्यातिएका मतपत्र सहित आयोगले गरेको अनुसन्धानका बारे अन्य कागजात एक साताभित्र झिकाउन आदेश दिएको थियो । मुख्य निर्वाचन अधिकृृत कविप्रसाद न्यौपाने, सहायक निर्वाचन अधिकृत गम्भिर घिमिरे र प्रहरी नायब निरिक्षक गोविन्द श्रेष्ठ सहितको टोलीेले च्यातिएको मतपत्र राजनीतिक दलको रोहवरमा बाकसमा राखी सर्वोच्च ल्याएको थियो ।
सहायक निर्वाचन अधिकृत घिमिरेका अनुसार स्थगित मुचुल्का, स्थगनको सूचना, निर्वाचन आयोगलाई बुझाइएको प्रतिवेदन, च्यातिएको मतपत्र गणना गरेको मुचुल्का, मतपत्र च्यात्ने २ जना माथि लगाइएको मुद्दाको फाइल र आयोगका विभिन्न समयमा सो घटनाका विषयमा भएका अनुसन्धान प्रतिवेदन समेत सर्बोच्चमा बुझाइएको छ ।

