चितवन, १५ साउन- सुविधासम्पन्न भएर पनि जिल्ला तहको अस्पतालको रुपमा रहेको भरतपुर अस्पताललाई केन्द्रीय तहको बनाउन पहल थालिएको छ ।
नेपाल सरकारको तीन सय शैयया र अस्पताल विकास समितिको तीन सय शैयया गरी हाल अस्पतालमा छ सय शैयया सञ्चालनमा छ । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा रबिन खड्काका अनुसार राजनैतिक दलका प्रतिनिधि, संघ र प्रदेशका सांसद, स्थानीय जनप्रतिनिधि, अस्पतालका विभागीय प्रमुखलगायतको सर्वपक्षीय भेलाले अस्पताललाई केन्द्रीय तहको बनाउने र शैक्षिक प्रतिष्ठानको रुपमा विकास गर्न पहल गर्ने निर्णय गरेको छ ।
मुलुकको मध्यभागमा रहेको भरतपुर अस्पतालमा दैनिक एक हजारदेखि एक हजार पाँच सयसम्म बिरामी बहिरंग सेवाका लागि आउने गरेका छन् । अस्पतालले चितवनसहित त्यसवरपरका २२ जिल्लाका ४० लाख नागरिकलाई सेवा दिएको तथ्यांक छ । अस्पतालमा गत आर्थिक वर्षमा एक लाख ७२ हजार ६०६ बिरामीको उपचार गरिएको थियो ।
काठमाडौँको प्रसुतिगृहपछि बढी प्रसुति गराउने भरतपुर अस्पताल हो । गत आर्थिक वर्षमा १६ हजार २४३ गर्ववतीको प्रसुति गराइएको थियो । तीन हजार दुई सय ६३ सुत्केरीको शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ ।
मेडिकल सुपरिटेण्डेन्ट खड्काका अनुसार १४ वटा विभागमार्फत् अस्पतालले सेवा दिँदै आएको छ । राजधानी बाहिर अन्य अस्पतालले सो परिमाणमा सेवा दिन नसकेको उहाँको दाबी छ ।

