चितवन, १८ जेठ– भरतपुर महानगरपालिकाको मतगणना भइरहँदा आइतबार राति च्यातिएको मतपत्रमध्ये ९० वटामा क्षति पुगेको नेपाली कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले जानकारी दिनुभएको छ ।
भरतपुर वडा नम्बर १९ मा जम्मा खसेको मत २ हजार ८ सय ९७ हो । यसअघि १ हजार ८ सय ९ मत गणना भइसकेको छ । बाँकी रहेको मतमध्ये ९ सय ९८ वटा सुरक्षित रहेको र ९० वटा मतपत्रमा क्षति पुगेको सभापति श्रेष्ठले जानकारी दिनुभयो ।
बिहीबार चितवनको भरतपुरमा च्यातिएको मतपत्रको अवस्था बुझ्नका लागि सबै दलका प्रतिनिधि तथा मेयर, उपमेयरलगायत अरु उम्मेदवार गरी ४६ जना मतगणनास्थल भरतपुरको कभर्डहलमा छन् ।
निर्वाचन आयोगले गएको आइतबार राति च्यातिएको मतपत्रको संख्या यकिन गरेर पठाउन भनेपछि च्यातिएका मतपत्र गनिएको हो । वडा नम्बर १९ को मत गन्ने क्रममा त्यहाँ रहेको माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यातेपछि भरतपुरको मतगणना रोकिएको थियो ।

