भक्तपुर, २४ बैशाख– भक्तपुर नगरपालिका वडा नं १ तेखापुखुमा गएराति २ बजेदेखि भीषण आगलागी भइरहेको छ ।
आगो अहिलेसम्म पूर्णरुपमा नियन्त्रणमा नआएको र नियन्त्रणको प्रयास भइरहेको महानगरीय प्रहरी परिसर, भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिनुभयाे ।
इन्द्र शिल्पकारको घरबाट खाना पकाउने काठको भुस बलेर आगलागी सुरु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी नायब उपरीक्षक प्रसाईंले जानकारी दिनुभयो।
आगलागीबाट आठ घरपरिवार बस्दै आइरहेको पाँचवटा घर पूर्णरुपमा ध्वस्त भएका छन् । इन्द्र शिल्पकार, कृष्ण शिल्पकार, दानबहादुर शिल्पकार, चन्द्रलाल शिल्पकार, लक्ष्मीप्रसाद शिल्पकार, नारायण शिल्पकार र पुरुषोत्तम शिल्पकारको परिवार बस्दै आएको घरमा आगलागी भएको हो ।
बिहानै देखि स्थानीय बासिन्दा, नेपाल, प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको टोलीसहित भक्तपुरका दुई, काठमाडौँको एक, ललितपुरको दुई र नेपाल प्रहरीको एक गरी छवटा दमकलले बिहानसम्म आगो नियन्त्रणको प्रयास गरेपनि अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन् ।

