काठमाडौं, १२ चैत– साताव्यापी चीन भ्रमणमा जानुभएका प्रधानमन्त्री पुष्पकमल दाहालले आज चीनमा हुने एसियाका लागि बोआओ मञ्चको वार्षिक सम्मेलनमा सम्बोधन गर्नुहुने भएको छ । प्रधानमन्त्रीले आज मञ्चको उद्घाटन समारोहलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।
सम्बोधन पछि उहाँ आजै अपराह्न बेइजिङ प्रस्थान गर्नुहुनेछ । प्रधानमन्त्रीले बेइजिङ फरेन स्टडिज युनिभर्सिटीले आयोजना गर्ने ‘नेपाल–चीन सम्बन्ध ः समृद्धिका अवसर’ विषयको छलफल कार्यक्रमलाई प्रमुख वक्ताका रुपमा भोली सम्बोधन गर्ने कार्यक्रम छ ।
भोलीनै उहाँले चिनियाँ व्यापारी समुदायसँग छलफल गर्नाका साथै विश्वविद्यालयको परिसरमा स्थापना हुने नेपाल अध्ययन केन्द्रको उद्घाटन गर्नुहुनेछ ।
भ्रमणका क्रममा प्रधानमन्त्री नेतृत्वको नेपाली प्रतिनिधिमण्डल चैत १५ गते चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासा पुग्नेछ ।
हिजो प्रधानमन्त्री र चीनका उपप्रधानमन्त्री झाङ गोलीबीच केरुङदेखि काठमाडौँ तथा पोखरासम्मको रेल्वे निर्माण, ऊर्जा विकास, पूर्वाधार विकास, तातोपानी नाका पुनःसञ्चालन र दुई देशबीचका अन्य नाका सञ्चालन गर्ने विषयमा छलफल भएको छ । प्रधानमन्त्री दाहाल यही चैत १६ गते स्वदेश फर्कनुहुनेछ ।

