बेल्जियममा बलात्कार पीडितको पोशाक प्रदर्शन

काठमाडाैं, २८ पुस – महिलामाथि हुने यौन हिंसा वा बलात्कारकाबारे कतिपयले उनीहरुको पोशाकलाई पनि जिम्मेवार बनाउने गरेका छन् । तर के पोशाककै कारण महिलाहरु यौन हिंसा वा बलात्कारको शिकार हुने गरेका छन् त ? यही प्रश्नको जवाफ दिने प्रयासस्वरुप बलात्कार पीडितको पोशाक प्रदर्शनी गरिएको छ ।

बेल्जियममा बलात्कार पीडितको पोशाक प्रदर्शनीमा राखिएको हो । ब्रसेल्सको मोलेनबीकमा गरिएको यो प्रदर्शनीलाई ‘इज माइ फल्ट ?’ अर्थात् ‘के यो मेरो गल्ती हो ?’ नाम दिइएको छ । प्रदर्शनीमा ती पोशाक राखिएका छन्, जो पीडितले बलात्कारको समयमा लगाएका थिए । आयोजकले पीडितबाट संकलन गरेका पोशाकलाई प्रदर्शनी कक्षमा राखेका हुन् ।

प्रदर्शनी आयोजकका अनुसार पोशाकका कारणमात्र महिला बलात्कारको शिकार भएको भन्न नसकिने निष्कर्ष उक्त प्रदर्शनीबाट आएको छ । प्रदर्शनीमा कतिपय यस्ता पोशाक पनि छन्, जो आम महिलाले लगाउने गर्दछन् । टिशर्ट, पाइन्टजस्ता पोशाक लगाएको अवस्थामा समेत महिला बलात्कृत भएका छन् ।

आयोजक संस्थाकी लिसवेथ केन्सले भनिन्, ‘प्रदर्शनीमा राखिएका कपडा यस्ता छन्, जो निकै साधारण लाग्छन् र त्यस्ता कपडा जोसूकैले लगाउने गरेका छन् ।’ उनले भनिन्, ‘पीडितमाथि नै उत्तेजक कपडा लगाएको, राति अबेरसम्म घर बाहिर रहेको जस्ता आरोप लगाउने गरिन्छ जबकि अपराधको जिम्मेवार केवल अपराधीमात्र हुन्छ ।’ (एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here