बेलिब्रिज निकालियो, राजधानीसँग यातायात विच्छेद

खोटाङ, २० जेठ । राजधानी काठमाडौँलगायत तराईका जिल्ला जोड्ने मुख्य नाका जयरामघाटमा जडान गरिएको अस्थायी बेलिब्रिज हटाइएसँगै खोटाङ सडक यातायात सम्पर्कबाट विच्छेद भएको छ ।

बाटोमा पार गर्नुपर्ने खोटाङ र ओखलढुङ्गाको जयरामघाटस्थित दूधकोसी नदीमा जडान गरिएको अस्थायी बेलिब्रिज शुक्रबारदेखि हटाउन थालिएसँगै यो जिल्ला सडक सञ्जालबाट अलग्गिएको हो ।

गत मङ्सिर २१ गतेदेखि सञ्चालनमा रहेको बेलिब्रिज निकालिएसँगै जिल्लाबाट तराई जाने र आउनेक्रममा दुई ठाउँमा गाडी परिवर्तन गर्नुपर्ने बाध्यता छ ।

दूधकोसीस्थित जयरामघाटमा पुलको अभावमा हरेकवर्ष अस्थायी बेलिब्रिज राख्ने गरिएको छ । बाटोमा पर्ने दूधकोसीको बेलिब्रिज निकालिएपछि जिल्लाबाट काठमाडौँ तथा कटारी हुँदै धरान, विराटनगर, झापा, जनकपुरलगायतका पूर्वी सहर जान र आउनका लागि जयरामघाटमा गाडी परिवर्तन गर्नुपर्ने बाध्यता सुरु भएको यातायात व्यवसायी सङ्घ खोटाङका महासचिव रामकुमार हिङमाङले बताउनुभयो ।

दूधकोसीमा निर्माणाधिन मोटरेबल पक्की पुल निर्माणकार्य थालेको नौ वर्षमा पनि पूरा हुनसकेको छैन । अस्थायी बेलिब्रिज झिकिएपछि तराईबाट जिल्ला भित्रिने दैनिक उपभोग्य सामान दूधकोसीमा भरियामार्फत गाडीबाट झारेर नदी तार्नुपर्ने र पुनः गाडीमा राख्नुपर्ने समस्याले त्यसको मूल्य बढ्ने उद्योग वाणिज्य सङ्घ खोटाङका अध्यक्ष राजेन्द्र मयालुले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here