बृहत बाम एकता अस्वाभाविक र अप्राकृतिक-काँग्रेस केन्द्रीय सदस्य शंकर भण्डारी

भक्तपुर, १९ असोज । नेपाली काँग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले बृहत बाम एकता अस्वाभाविक र अप्राकृतिक रहेको बताउनुभएको छ ।
नेपाली काँग्रेस भक्तपुर नगर समितिले आज सूर्यविनायकमा आयोजना गरेको शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रममा उहाँले वाम एकताको आधार समेत नभएको आरोप लगाउनुभयो ।

उहाँले भन्नुभयो–“माओवादी आफैमा छिन्न भिन्न छ, सिपी मैनाली, मोहन वैध, विप्लव समूहलाई एकतामा ल्याउन सकेको छैन, बृहत वाम एकताको कुनै आधार छैन, विदेशीको ईशारामा हतारिएर गरिएको अस्वाभाविक र अप्राकृतिक यो गठबन्धन टिक्दैन ।”

बाम एकताले आगामी मंसिरमा हुने निर्वाचनमा लोकतन्त्रवादीलाई धक्का दिन सक्ने भन्दै उहाँले काँग्रेस यसतर्फ गम्भीर भएको बताउनुभयो ।

कार्यक्रममा नेपाल तरुण दलका पूर्व अध्यक्ष विनोद कायस्थले अहिलेको जटिल परिस्थितिमा पार्टीले टिकट दिँदा पुराना र योगदान गरेका व्यक्तिको छनौट गरी टिकट बाड्नुपर्नेमा जोड दिँदै अन्यथा स्थानीय तहको निर्वाचन कै जस्तै परिणाम भोग्नुपर्ने बताउनुभयो ।

नेपाली काँग्रेस भक्तपुरका सभापति दूर्लभ थापा, काँग्रेस नेता बाबुराजा जोशी, पूर्व अध्यक्ष तिलक कायस्थ, नगर सभापति राम कासुलालगायतले मंसिरका निर्वाचनका लागि काँग्रेसलाई गाउँ तहदेखि नै एक ढिक्का बनाएर लैजानुपर्छ भन्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here