काठमाडौँ, १७ वैशाख-राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल आमाका सपूत एवं अमरज्योति शान्तिका अग्रदूत बुद्धको दुई हजार ५६२ औँ जन्मजयन्तीका अवसरमा सम्पूर्ण बौद्ध धर्मावलम्बीलगायत शाक्यमुनि बुद्धले दिएको शान्ति, अहिंसा, मेलमिलाप र करुणा भावनाप्रति विश्वास राख्ने स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण महानुभावमा शुभकाना व्यक्त गर्नुभएको छ ।
बुद्ध जन्मजयन्तीका अवसरमा दिनुभएको शुभकामना सन्देशमा राष्ट्रपति भण्डारीले धार्मिक, सामाजिक तथा साँस्कृतिक विविधताबीच सहिष्णुता र सद्भाव कायम गरी राष्ट्रिय एकतालाई सदृढ एवं सबल बनाउने अभियानमा शान्तिदूत बुद्धका उपदेश तथा मार्गदर्शन हामी सबैका लागि प्रेरणादायी रहेको उल्लेख गर्नुभएको छ ।
बौद्ध दर्शनलाई आत्मसात् गर्दै अगाडि बढ्न सकेमा हामीभित्र आन्तरिक शान्ति तथा भ्रातृत्व भाव आउनाका साथै आर्थिक समृद्धि, सामाजिक विकास एवं दिगो शान्ति र सुशासनतर्फ उन्मुख सबैबीच एकता, सहिष्णुता र सद्भाव कायम हुन सजिलो हुने उहाँले उल्लेख गर्नुभएको छ ।
सन्देशमा आजको पवित्र दिनमा एकापसमा सद्भाव, मेलमिलाप एवं अहिंसावादी सिद्धान्तको पालना गर्न विश्वका सम्पूर्ण मानवलाई प्रेरणा मिलोस् भन्ने कामनासमेत गरिएको छ ।
राष्ट्रपति भण्डारीले उभौली पर्वका अवसरमा पनि सम्पूर्ण स्वदेश तथा विदेशमा रहनुभएका नेपाली किराँत धर्मावलम्वी दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति तथा समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।
शुभकामना सन्देश दिँदै उहाँले नेपालको मौलिक र विशिष्ट संस्कृतिसहितको समुदाय किराँतको उभौली पर्वले नेपालीबीच आपसी सद्भाव, भ्रातृत्व र सहिष्णुता कायम गर्दै सामाजिक एकता, शान्ति र मेलामिलापको वातावरण सिर्जना गर्ने उल्लेख गर्नुभएको छ .

