काठमाडौं,२५ माघ । नेपाली काँग्रेसका सांसद राम बहादुर विष्ट वाईडबडी काण्डमा भन्दा ठूलो भ्रष्टाचार बुढीगण्डकी जलविद्युत आयोजना चिनियाँ कम्पनीलाई दिनको लागि भएको आरोप लगाउनुभएको छ ।
प्रतिनिधि सभामा शुन्य समयमा बोल्दै नेता विष्टले वाईडबडी भ्रष्टाचारको विषय सेलाउन नपाउँदै त्यो भन्दा ठूलो भ्रष्टाचार बुढीगण्डकीमा भएको भन्दै छानविनको माग गर्नुभयो ।
सांसद विष्टले नेपाल आफैं बनाउन सक्षम रहेको १२ सय मेगावाटको बुढीगण्डकी जलविद्युत आयोजनाको लागि सबै तयारी भईरहेको बेलामा सरकारले एक्कासी विना प्रतिस्पर्धा चिनियाँ कम्पनी गेजुवाको जिम्मा दिईनुले यसमा ठूलो भ्रष्टाचारको गन्ध आएको आरोप लगाउनुभयो । उहाँले यसमा कतिसम्मको भ्रष्टाचार भयो होला ? भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।

