बिस्केट जात्रामा करीब एक लाख दर्शक

काठमाडौँ, ४ वैशाख– काठमाडौँको उत्तरी भेगस्थित टोखामा नयाँ वर्षका दिनदेखि शुरु भएको बिस्केट जात्रामा करीब एक लाख दर्शकले अवलोकन गर्दै आज सम्पन्न भएको छ ।

प्रत्येक वर्ष वैशाख १ देखि ४ गतेसम्म गरिने उक्त जात्रामा अवलोकनका लागि काठमाडौँ उपत्यका तथा त्यस आसापसा क्षेत्रबाट दर्शक तथा भक्तजनको सहभागिता थियो । जात्रामा स्थानीय कुमारी र गणेशलाई प्रत्येक दिन खटमा राखेर नगर परिक्रमा गराइएको थियो ।

उक्त टोलमा गणेश, चण्डेश्वरीलगायत देवीदेवतालाई सिन्दूर हालेर जात्रा निकालिनुका साथै स्थानीय विभिन्न देवदेवीको पूजा गरिएको थियो । प्राचीन समयमा यहाँको बस्तीमा विभिन्न खराब शक्तिले सर्वसाधारण जनतालाई दुःख दिन थालेपछि उनीहरूलाई सुरक्षित बनाउन सो जात्राको प्रचलन शुरु गरिएको जनविश्वास छ । यहाँको बिस्केट जात्रामा भक्तपुरको जस्तो जिब्रो छेड्ने परम्परा छैन ।

जात्रा व्यवस्थापन समितिका अध्यक्ष गणेशमान श्रेष्ठले जात्रामा स्थानीय समूहबीच खटजात्रामा भैmझगडा हुन नदिनका लागि जात्रा अवधिभर त्यस स्थलको आसपास क्षेत्रमा रक्सी तथा मदिराजन्य वस्तु खरिद बिक्रीमा प्रतिबन्ध लगाइएको र स्वयंसेवकलाई सशक्त बनाइएको बताउनुभयो । जात्रालाई व्यवस्थित बनाउन सुरक्षाकर्मी, स्थानीय क्लब तथा स्थानीय संघसंस्था क्रियाशील भएका थिए ।

जात्रा अवधिभर उक्त स्थानमा पुगेर देवदेवीको पूजा गरेमा पारिवारिक सुख, शान्ति र समृद्धि प्राप्त हुने विश्वास छ । यहाँ प्राचीन समयदेखि सुसंस्कृत मानव सभ्यताको बसोबास रहेको तथ्य फेला परेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here