एजेन्सी । भारतीय जनता पार्टीकी सांसद रेखा वर्माले प्रहरीका एक सिपाहीलाई अभद्र व्यवहार गर्दै थप्पड हानेकी छन् ।धौरहराको लखीमपुर खिरी जिल्लास्थित मोहम्मदी थानामा ड्यूटीमै खटिएका सिपाही श्याम सिंहमाथि आक्रमण गरेको आरोप लागेको हो । पीडित सिपाही श्यामका अनुसार उक्त घटना आइतबार रातिको हो ।
जहाँ सांसद रेखा वर्मा मोहम्मदीमा पार्टीका एक कार्यकर्ता सम्मान समारोहबाट आफ्नो गाउँ मकसुदपुर फर्किँदै गरेको बताइएको छ । यस क्रममा मोहम्मदी कोतवाली प्रहरीको एउटा गाडी उनको सुरक्षाको लागि अघि अघि गुडिरहेको थियो । जसमा श्याम सिंह पनि थिए ।
सिपाही श्याम भन्छन्, ‘सांसदले बीच बाटोमै गाडी रोकेर अपशब्द बोल्दै धम्की दिइन् । म चाहीँ के भयो भनेर सोधिरहेको थिएँ । तर उनले मलाई एक्कासी थप्पड हानिन् ।’
ती प्रहरीले यसबारे अधिकारीहरुलाई उजुरी गरेको कुरा बिबिसी हिन्दीले आफ्नो समाचारमा उल्लेख गरेको छ । साथै पीडितले मुख्यमन्त्री समक्ष सोमबार ‘एफआरआई’ गराएका छन् ।
मोहम्मदी थानाका दिनेश कुमार सिंहका अनुसार श्यामले सांसदमाथि थप्पड हानेको आरोप लगाएका छन् । उच्च अधिकारीहरुको निर्देशन अनुसार सांसदमाथि मुद्दा दर्ता गराइएको छ । सांसद रेखा दोस्रो पटक सांसद बनेकी हुन् । यसअघि पनि यस्ता घटनामा उनी विवादमा आइरहेकी थिइन् । गत वर्ष सरकारी बैठकमा आफ्नै पार्टीको विधायकलाई आक्रमण गर्न जुत्ता उठाउँदै धम्की दिँदै गरेको भिडियो भाइरल नै बनेको थियो ।

