बागलुङ, १६ साउन-तमानखोला गाउँपालिकाले पछिल्लो तीन महिनामा भएका आठ बालविवाह बदर गरेको छ ।
कानून विपरीत भएका बालविवाह रोक्न गाउँपालिकाले अभियान थालेको हो । गाउँपालिका– १, २, ३ र ५ वडाका खुङखानी, बोङखानी, हिले, खोलेसवाङ र पहिरा गाउँमा भएका बालविवाह बदर गरिएको गाउँपालिकाले जनाएको छ ।
बालविवाह हुनै नदिने र भएका भएपनि त्यसलाई बदर गर्न अभियान चलाइएको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले बताउनुभयो । अभियानमा छलफल, सचेतनाका लागि वृत्तचित्र, नाटक प्रदर्शन गर्ने गरिएको छ ।
‘घरघरमै पुगेर अभिभावक र बालबालिकालाईसँगै राखेर परामर्श दिने गर्छौं,’ अध्यक्ष बुढाले भन्नुभयो, “पहिले बालविवाह रोक्न कठिन थियो, तर अहिले अभियान सफल बनेको छ ।” तमानखोला गाउँपालिकाका अधिकांश वडामा बालविवाह सामाजिक समस्याको रुपमा रहिआएको छ ।

