परशुराम, १३ कात्तिक: डडेल्धुराको परशुराम नगरपालिकाका बाढीपहिरो पीडितका लागि खरिद गरिएको ४६ रोपनी जग्गा हस्तान्तरणको प्रक्रिया अगाडि बढाउन माग गरिएको छ ।
नगरपालिका वडा नं २ र ३ मा विसं २०६२ असोज ८ गते अविरल वर्षापछि विस्थापित जीवन बिताउँदै आएका पीडितले आफूहरुको पुनःस्थापनाका लागि खरिद गरिएको जग्गा हस्तान्तरणको माग गरेका हुन् ।
तेह्र वर्षअघि आएकोे पहिरोमा एकै परिवारका आठ सदस्यसहित ३२ जनाले ज्यान गुमाएका थिए भने ३५ परिवार पहिरोका कारण विस्थापित जीवन बताउँदै आएका छन् । विस्थापितको पुनःस्थापनाका लागि खरिद गरिएको जग्गा प्लटिङ गरी लगत तयार हुँदासमेत काम अगाडि नबढेको भन्दै पीडितले १२७औँ पटक ज्ञापनपत्र बुझाएका छन् । उनीहरुले सोमबार जिल्ला प्रशासन कार्यालय डडेल्धुरामार्फत सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीको कार्यालय र भौतिक पूर्वाधार मन्त्रालयमा ज्ञापनपत्र बुझाएका छन् ।
साविकको शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयले आफ्नै नाममा राखेको जग्गामा अहिलेसम्म कुनै काम अगाडि नबढेपछि प्रदेश सरकारलाई निकासा रकम दिएर पुनःस्थापनाको काम अगाडि बढाउन ज्ञापन बुझाइएको शीर्ष पहिरो पीडित सङ्घर्ष समितिका संयोजक प्रजापती नाथले बताउनुभयो ।
परशुराम–४ रातीमाटीमा ३७ रोपनी र वडा नं ५ परीगाउँमा नौ रोपनी गरी ४६ रोपनी जग्गा अघिल्लो सरकारमा खरिद गरेको थियो । सो जग्गा अहिलेसम्म पनि योजना बनाएर हस्तान्तरण हुन नसकेपछि पीडितले सरकारी निकायले तदारुकता नदेखाएको भन्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् ।

