सुर्खेत, १८ भदौ: शनिबार पञ्चपुरी नगरपालिका–४ सुर्खेतकी आठ वर्षीया बालिका लक्ष्मी शाहीको सर्पको टोकाइबाट मृत्यु भयो ।
त्यस्तै गएको साउन महिनाको २२ गते पञ्चपुरी नगरपालिका– १० की १४ वर्षीय हरिकला उपाध्यायको सर्पकै टोकाइबाट मृत्यु भएको थियो । दुवैको मृत्यु बेलैमा उपचार नपाएकै कारण भयो । पञ्चपुरीमा अहिले सर्पदंश आतङ्क बढेको छ । यो आतङ्कबाट बाढीपीडित नै बढी आजित छन् । सर्पबाट टोकिएका दुवै बालिकाले ज्यान गुमाएपछि बाढीपीडितलगायत सबै स्थानीय त्रसित छन् ।
विशेषतः वर्षा याममा एकातिर सर्पले टोक्ने डर अर्कोतिर त्यसले डसेमा सहजै उपचार पाउन नसकिने निराशा उनीहरूमा छाएको स्थानीय समाजसेवी खड्ग बाँसपानीले बताउनुभयो । “सर्पदंशको आतङ्क विसं २०७१ का बाढीपीडितलाई छ जसको त्रिपालमा लामखुट्टे, भ्यागुता र सर्प सजिलै पस्छन्”, उहाँले भन्नुभयो, “त्रिपालभित्र चार वर्षदेखि नारकीय जीवन बिताइरहेका उनीहरूको समस्या आजपर्यन्त समधान हुन सकेको छैन ।” गत साउन २२ गते सर्पको टोकाइबाट मृत्यु भएकी हरिकला बाढीपीडित परिवारकी भएको उहाँले बताउनुभयो ।
सर्पदंशबाट मर्नुको प्रमुख कारण नजिकको स्वास्थ्य संस्थाबाट उपचार पाउन नसकेर नै हो । पञ्चपुरी नगरपालिकाको सालकोटमा पलाटे प्राथमिक स्वास्थ्य केन्द्र छ । सो केन्द्रले जटिल खालका र आकस्मिक उपचार सेवा दिनसक्ने अवस्थामा नरहेको उक्त स्वास्थ्य केन्द्रका प्रमुख डा सन्दिप महतले जानकारी दिनुभयो ।
“यहाँको ठूलो समस्या भनेको बत्ती नै हो”, डा महतले भन्नुभयो, “बत्ती नभएकै कारण फ्रिज, विभिन्न औषधि, भ्याक्सिन जस्ता महत्वपूर्ण औषधि राख्न सकिने अवस्था छैन । फ्रिज नभएकैले एन्टिस्नेक भ्याक्सिन उपलब्ध नभएको हो ।” सामान्यत केही काम सौर्य ऊर्जाबाट चलाउने र भिडियो एक्स–रे को तत्कालीन सेवा प्रवाहका लागि जेनेरेटर सञ्चालनमा ल्याउने गरेको उहाँको भनाइ छ ।

