बाढीपहिरो र डुबानकाे कहर : मृत्यु हुनेको संख्या ४४ पुग्यो

काठमाडौं,२९ असार ।  मुलुकका विभिन्न भागमा बाढीपहिरो र डुबानमा परी शनिबार साझँसम्म ज्यान गुमाउनेको संख्या ४४ पुगेको छ। शुक्रबार रातिसम्म २४ जनाको मृत्यु भएकोमा शनिबार यो संख्या बढेर ४४ पुगेको हो।

हाम्रा जिल्ला समाचारदाताका अनुसार शुक्रबार काठमाडौंमा तीन, खोटाङमा तीन, काभ्रे, भोजपुर, मकवानपुर, ओखलढुंगा र झापामा दुइ÷दुई, पश्चिम रुकुम, रामेछाप, इलाम, बारा, पर्सा, ललितपुर, धादिङ र सिन्धुलीमा एक÷एक गरी २४ जनाको मृत्यु भएको थियो। शनिबार ललितपुरमा पाँच, भोजपुरमा तीन, ओखलढुंगा र रौतहटमा दुई÷दुई, काभ्रे, धादिङ, चितवन, पाल्पा, मकवानपुर, सुनसरी, सिन्धुली र डोल्पामा एक÷एक गरी २० जनाको मृत्यु भएको छ।

नेपाल प्रहरीले भने बाढीपहिरो र डुबानमा परी शनिबार साझँसम्म ज्यान गुमाउनेको संख्या ३३ पुगेको जनाएको छ। प्रहरी प्रधान कार्यालयले शनिबार सार्वजनिक गरेको तथ्यांकअनुसार देशभर मृत्यु हुनेको संख्या ३३ पुगेको हो। प्रहरीका अनुसार ज्यान गुमाउनेमा ललितपुरमा ६, काठमाडौं, खोटाङ, भोजपुर, काभ्रे र मकवानपुरमा ३÷३ जना, सिन्धुली र धादिङमा २÷२ जना, इलाम, झापा, ओखलढुंगा, सुनसरी, बारा, पर्सा, रामेछाप र चितवनमा १÷१ जना छन्। केही मानिस बेपत्ता र गम्भीर घाइते भएका कारण मृतकको संख्या बढ्न सक्ने प्रहरीले जनाएको छ।

बाढीपहिरो र डुबानबाट सयौं परिवार विस्थापित र २० जना बेपत्ता भएका छन्। डोल्पामा नौ, मोरङ, रौतहट र इलाममा तीन÷तीन, झापा र धादिङमा एक÷एक गरी २० जना बेपत्ता छन्। बाढीपहिरो र डुबानबाट प्रदेश एक, दुई र तीनका जिल्ला बढी प्रभावित भएका छन्। लगातारको वर्षाबाट जनजीवन प्रभावित भएको छ।

गृह मन्त्रालयका अनुसार बाढीपहिरो र डुबान प्रभावित क्षेत्रमा उद्धारका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ। उद्धारमा ८ हजार सैनिक परिचालन गरिएको छ। त्यस्तै ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी पनि परिचालन गरिएको छ। बाढीपहिरोबाट अतिप्रभावित १४ जिल्ला झापा, सुनसरी, उदयपुर, भोजपुर, सिराहा, धनुषा, महोत्तरी, रौतहट, बारा, सिन्धुली, मकवानपुर, काठमाडौं, ललितपुर र काभ्रेपलान्चोकमा शनिबारसम्म ३ सय ५८ जनाको सकुशल उद्धार गरिएको मन्त्रालयले जनाएको छ।

राहतका लागि तत्काल वैदेशिक सहयोग नलिने
गृह मन्त्रालयले शनिबार बिहान आयोजना गरेको विपद जोखिम न्यूनीकरण व्यवस्थापन कार्यकारी समितिको बैठकले राहतका लागि तत्काल वैदेशिक सहयोग नलिने निर्णय गरेको छ। गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा बसेको बैठकले यस्तो निर्णय गरेको हो। बैठकपछि संघीय मामिला मन्त्री लालबाबु पण्डितले बाढीपहिरो र डुबान प्रभावित क्षेत्रमा उद्धारका लागि पर्याप्त सुरक्षाकर्मी खटाइएको जानकारी दिए। उनले नेपाली सेना ८ हजार, सशस्त्र प्रहरी ८ हजार र नेपाल प्रहरी २७ हजार उद्धारमा खटिएको जानकारी दिए। आजको नागरिकमा खबर छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here