काठमाडौं,३ साउन । बल्खु र कालीमाटी तरकारी तथा फलफुल बजारमा आज बिहान वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको टोलीले अनुगमन गरेको छ । अनुगमनका क्रममा बल्खु र कालिमाटीका १९ व्यापारीलाई जरिवाना गरिएको छ । बिहान अनुगमनमा गएको विभागको टोलीले बल्खु तरकारी र फलफूल बजारका ११ व्यापारीलाई ५ देखि २० हजारसम्म जरिवाना गरेको हो ।
एक व्यापारीले लिएको तरकारी भित्रकै अर्को पसलमा बेच्दा ४०–५० रुपैंया नाफा राखेर बेचेको पाइए पछि कारवाही गरिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक शोभाकर रेग्मीले बताउनु भयो । विभागका शाखा अधिकृत दिपक पोखरेलको संयोजकत्वमा रहेको टोलीले अहिलेसम्म ८ वटा पसललाई कारवाही गरेको छ । अनुगमनस्थलमै होलसेल व्यापारीलाई कारवाही गरिएको हो ।

