बलिदान खेर गएको छैन : वरिष्ठ नेता झलनाथ खनाल

web

काभ्रेपलाञ्चोक, ५ चैत: पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले जनताको बलिदान खेर नगएको बताउनुभएको छ । जनसांस्कृतिक महासङ्घ नेपालद्वारा आज काभे्रपलाञ्चोकको पाँचखाल नगरपालिका–१ अनैकोटस्थित दाहालगाउँमा आयोजित २१ औँ शहीद दिवस तथा जनसांस्कृतिक राष्ट्रिय सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै शहीदको बलिदानीका कारण आजको परिवर्तन सम्भव भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “बलिदान खेर गएको छैन, आजको परिवर्तन शहीदको सपनाको फल हो ।” उहाँले नेकपाले शहीद परिवारप्रति सम्मान व्यक्त गर्दै आएको र सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । पूर्वप्रम खनालले ७० को दशक पार्टी एकीकरण र शुद्धिकरणको दशक भएको बताउनुभयो । “पार्टी एकताको विकल्प छैन”, उहाँले भन्नुभयो, “अब नेकपा एक भएर ठूलो शक्तिका रुपमा स्थापित हुन्छ, नेपालमा अब योबाहेक कुनै शक्तिशाली पार्टी हुँदैन ।” उहाँले पूँजीवादबाट मुक्त हुन नेतालाई आग्रह गर्नुभयो ।

पूर्वउपप्रधानमन्त्री एवं नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल फर्केको केही दिनमै पार्टी एकताको टुङ्गोे लाग्ने बताउनुभयो । उहाँले भन्नुभयो, “राजनीतिक प्रतिवेदन पनि तयार हुँदैछ, अध्यक्ष कमरेड आएपछि सबै टुङ्गो लाग्नेछ ।”

पूर्वमन्त्री एवं नेकपाका नेता जनार्दन शर्मा ‘प्रभाकर’ले शहीदको बलिदानीबाट प्राप्त उपलब्धीलाई रक्षार्थ संस्थागत गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “एकताबद्ध भएर प्राप्त उपलब्धीलाई संस्थागततर्फ लाग्नुपर्छ ।” नेकपा स्थायी समिति सदस्य मणि थापाले जनताभन्दा ठूलो कुनै शक्ति नभएकाले जनताकै शक्तिलाई सर्वोपरी मान्नुपर्ने बताउनुभयो ।

नेकपा केन्द्रीय सदस्य कृष्णप्रसाद सापकोटा, प्रदेश सांसद लक्ष्मण लम्साल, जनसांस्कृतिक महासङ्घ नेपालका अध्यक्ष सरल सहयात्री, संयोजक खगेन्द्र राई र कोषाध्यक्ष प्रगति महराले शहीदको योगदानबारे चर्चा गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here