बराहक्षेत्र सप्तकोसी कटानको उच्च जोखिममा

इटहरी, २५ जेठ । हिन्दूहरुको आस्थाको महत्वपूर्ण धार्मिक तीर्थस्थल बराहक्षेत्र लामो समयदेखि सप्तकोसी नदीमा आउने बाढीको तीव्र कटानले उच्च जोखिममा परेको भन्दै स्थानीयवासीले मन्दिरको दीर्घकालीन सुरक्षा र संरक्षणका लागि राज्यको ध्यानाकर्षण गराउँदै आएका छन् । यही विषयमा सुनसरी सदरमुकाम इनरुवामा भएको छलफल तथा अन्तक्र्रिया कार्यक्रममा पनि यो विषयले विशेष प्राथमिकता पाएको थियो ।

हिन्दूहरुका चार धार्मिक क्षेत्रमध्ये नेपालमा रहेका दुई क्षेत्र बराहक्षेत्र र मुक्तिक्षेत्र हो । सुनसरीको बराहक्षेत्रमा अवस्थित यो पावन भूमि सप्तकोसी नदी र कोका खोलाको सङ्गमदेखि ठीक दक्षिणमा नदी घुमेर मन्दिरको दक्षिणी भागको जमिन तीव्र कटान गरिरहेकाले मन्दिर उच्च जोखिममा परिरहेको पण्डित योगेश भण्डारीले बताउँदै आउनुभयो ।

प्राचीन तथा पौराणिक धार्मिक ग्रन्थमा उल्लेख भएअनुसार भगवान् विष्णुले बराह अवतार लिएर रसातालमा डुब्दै गरेका पृथ्वीलाई आफ्नो सँुडले उचालेर बाहिर निकालेपछि बराहक्षेत्रमा पृथ्वीलाई राखेको भन्ने उल्लेख छ । त्यही पौराणिक धार्मिक मान्यताका कारण बराहक्षेत्र हिन्दू धर्मावलम्बीहरुको आस्थाको केन्द्र बन्न पुगेको हो ।

सप्तकोसी नदीमा हरेक वर्ष आउने बाढी नदी घुमेर पोखरी बनेको स्थानबाट बर्सेनि मास्तिरको जमिन कटान गरिरहेकाले यो पावन क्षेत्र कोसीको निरन्तरको कटानले उच्च जोखिममा पर्दै आएको छ । दायाँ उत्तरतर्फबाट बग्दै आउनाले कोका तथा पश्चिम उत्तरबाट आएको सप्तकोसीका कारण दुवैतर्फबाट करिब पाँच छ वर्षयतादेखि कटान हुन थालेपछि बराहक्षेत्र मन्दिर कटानको उच्च जोखिममा परेकाले कुनै पनि बेला मन्दिर बग्न सक्ने गम्भीर खतरा सिर्जना भइरहेको तर्फ बराहक्षेत्र बचाऊ अभियानकर्मीले राज्यको तत्काल ध्यानाकर्षण हुन जरुरी रहेको तर्फ आवाज उठाउँदै आइरहनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here