रुपन्देही जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीद्वारा रुपन्देहीका विभिन्न स्थानमा सञ्चालन भएकोे बन्ध्याकरण घुम्ति शिविरमा ४ सय ४३ जनाले बन्ध्याकरण गरेका छन्। तीमध्ये ७ जना मात्रै पुरुषले र बाँकी सबै महिला छन् ।
जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीकी अनुराधा झाका अनुसार जिल्लाका ११ स्थानमा बन्ध्याकरण घुम्ति शिविर भएको थियो ।
उनले जनचेतनाको अभावमा रुपन्देहीका तराई भेगमा यस्तो समस्या रहेको बताइन् । ‘तराई क्षेत्रमा पुरुषले धेरै काम गर्ने भएको कारण उनीहरुका श्रीमतीहरु बन्ध्याकरण नगर्न आग्रह गर्ने गरेको पाइएको छ,’ उनले भनिन्, ‘बन्ध्याकरणले शाररिक र यौन क्षमतामा कुनै कमी ल्याउँदैन भन्ने चेतना जगाउन जरुरी छ ।’
रुपन्देही जिल्लाको सिद्धार्थ नगरपालिका, रायपुर प्राथामिक स्वास्थ केन्द्र, मजगावा हेल्थपोष्ट, छपिया हेल्थपोष्ट, मोतिपुर स्वास्थ्य केन्द्र, दुधराक्ष हेल्थ पोष्ट, लुम्बिनी प्राथामिक स्वाथ्य केन्द्र, केरवानी हेल्थ पोष्ट, धकधई प्राथाकिम स्वास्थ्य केन्द्र, सेमराबजार हेल्थ पोष्ट गरि जिल्लाका ११ स्थानमा बन्ध्याकरण घुम्ति शिविर सञ्चालन भएको थियो ।
जनस्वास्थ्य कार्यालय रुपन्देहीका निरीक्षक कृष्णप्रसाद पोखरेलले सन्तानको रहर पुगेका महिलाहरुले मिनिल्याप र पुरुषहरुले भ्यासेक्टोमी गराएको बताए ।
जनस्वास्थ्य कार्यालय रुपन्देहीका जनस्वास्थ्य प्रशासक चुडामणी भण्डारीले चेतनाको कमीको कारण स्वस्फूर्त बन्ध्याकरण गराउन नखोज्ने पाइएको बताए ।

