काठमाडौं,२७ असोज– आगामी मंसिर १० र २१ गते हुने संघ र प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिक तर्फको बन्दसूची बुझाउँन २ दिन मात्र बाँकी रहँदा दलहरु अन्तिम गृहकार्यमा जुटेका छन् ।
निर्वाचन आयोगले समानुपातिक तर्फको बन्दसूची बुझाउने मिति आगामी पर्सि (आइतवार)का लागि तोकेको छ । लोकतान्त्रिक र बाम गठबन्धन बनाएर प्रत्यक्ष तर्फको निर्वाचनमा तालमेल गर्ने निर्णय गरेका दलहरु समानुपातिक तर्फ भने छुट्टाछुट्टै उम्मेदवार छनोटको कसरतमा जुटेका हुन् ।
जिल्लागत रुपमा आएका नाम माथि अध्ययन तथा छनोटमा समस्या देखिएपछि केही दिनयता बैठकमा जुटका दललाई आन्तरिक सकस देखिएको छ ।
सबैजसो दलहरुमा आन्तरिक गुट ब्यवस्थापन नै समस्या देखिएको नेताहरुको भनाई छ । नेताहरु आफ्ना पक्षका उम्मेदवारलाई बन्दसूचीमा पार्ने कसरतमा लागेपछि केन्द्रमा सकस परेको हो ।
उम्मेदवारको नामावली तयार पार्न गठित कांग्रेसको केन्द्रीय संसदीय समितिले हिजैबाट काम सुरु गरेको छ । जिल्लाबाट प्राप्त भएका नामलाई सूचिकृत गर्दै अध्ययन सुरु गरेको कांग्रेसले जनाएको छ ।
तल्लो तहबाट सिफारिस भएका उमेदवारलाई मुख्य आधार मानी बन्द सुची निर्माणको काम सुरु भएको नेता पुर्णबहादुर खड्काले जानकारी दिनुभयो ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि आजसम्म बन्दसूची निर्माण गरिसक्ने जनाएको छ । सातै प्रदेशबाट सिफारिस प्राप्त भईसकेको भन्दै एमालेले आज साँझसम्ममा समानुपातिक र प्रत्यक्ष तर्फको सुची तयार गर्ने बताएको हो ।
माओवादी केन्द्रले पनि उमेदवार छनोट अन्तिम चरणमा पुगेको जनाएको छ । राजपा, संघीय समाजबादी फोरम, राप्रपा, राप्रपा प्रजातान्त्रीक लगायत दलले पनि बन्दसूची निर्माण अन्तिम चरणमा र्पुयाएको बताएका छन् ।

