लन्डन,१० जेठ। फेसबुकले आफ्ना प्रयोगकर्तासँग नग्न तस्वीर माग्न थालेको छ । प्रारम्भिक चरणमा फेसबुकले बेलायती प्रयोगकर्तालाई आफ्ना नग्न तस्वीर पठाउन भनेको छ । यसअघि अस्ट्रेलियाली प्रयोगकर्तासँग फेसबुकले नग्न तस्वीर मागेको थियो । प्रयोगकर्ताकै सुरक्षाका लागि यसरी नग्न तस्वीर मागिएको फेसबुकले प्रष्ट पारेको छ । कतिपय प्रयोगकर्ताहरु कसैको बदलाको भावनाबाट शिकार बन्दै आएको उल्लेख गर्दै फेसबुकले त्यस्ता प्रयोगकर्तालाई जोगाउनका लागि नग्न तस्वीर मागिएको जनाएको छ ।
फेसबुकमा कतिपयले अरुको नग्न तस्वीर पोस्ट गर्ने, म्यासेन्जरमा पठाएर ब्ल्याकमेलिङ गर्ने लगायतका गतिविधि बढ्न थालेको भन्दै फेसबुकले त्यस्ता गतिविधि नियन्त्रण गर्नका लागि प्रयोगकर्ताहरुको नग्न तस्वीर मागिएको प्रष्ट पारेको छ ।
फेसबुकका अनुसार कसैसँग तपाईको नग्न तस्वीर छ भन्ने लाग्छ र उसले तपाईको नग्न तस्वीर फेसबुकमा पोस्ट गर्न सक्छ भन्ने लाग्छ भने तपाईलाई यो प्रविधिबाट जोगाउन सकिन्छ ।
फेसबुकले बेलायत, अमेरिका र क्यानाडामा यो प्रविधि प्रयोग गर्न थालेको छ ।
फेसबुकका अनुसार प्रयोगकर्ताले पठाएको तस्वीरलाई पाँचजनाको एउटा समूहले हेर्नेछ । ती पाँचैजना प्रशिक्षित समीक्षक हुन् । त्यसपछि सबै तस्वीरलाई एक खास डिजिटल फिंगरप्रिन्ट दिइनेछ ।
ती तस्वीरलाई डाटाबेसको रुपमा एउटा कोड स्टोर गरिन्छ । ती तस्वीर कुनै पनि प्रयोगकर्ताले फेसबुकमा अपलोड गर्न खोजेमा उक्त कोडले तस्वीर सनाखत गरी फेसबुक, इन्स्टाग्राम र म्यासेन्जरमा आउनु अघि नै ब्लक गर्ने फेसबुकको दावी छ । एजेन्सी

