फागुन ७ गते प्रजातन्त्र दिवस भव्य रुपले मनाइने, यस्तो छ तयारी

काठमाडौं,२८ माघ । सरकारले फागुन ७ गते ६९औं राष्ट्रिय प्रजातन्त्र दिवस भव्यताका साथ मनाउने भएको छ ।
आज गृह मन्त्रालयमा बसेको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षमा मूल समारोह समिति गठन गरी ६९औं राष्ट्रिय प्रजातन्त्र दिवसलाई भव्यताका साथ मनाउने तयारी गरेको हो ।

समितिमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, पूर्व प्रधानमन्त्रीहरु, मन्त्रीहरु, सांसदहरु, संवैधानिक निकायका प्रमुखहरु सदस्य रहेका छन् । त्यसैगरी समारोहलाई सफल बनाउन विभिन्न उपसमितिहरु पनि गठन गरिएको छ ।
फागुन ७ गते सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने विशेष समारोहमा राष्ट्रपति विद्या भण्डारी प्रमुख अतिथिको रुपमा सहभागी हुने कार्यक्रम रहेको छ । त्यस्तै उपराष्ट्रपति नन्दबहादुर पुन विशेष अतिथिको रुपमा रहने कार्यक्रमलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने बताइएको छ ।
यसै अवसर पारेर फागुन ६, ७ र ८ गते साँझ दिपावली मनाउने र विदेशस्थित नेपाली दूतावास र नियोगहरुमा प्रजातन्त्र दिवससम्बन्धी विभिन्न कार्यक्रम गर्ने निर्णय पनि गरिएको गृह सचिव प्रेमकुमार राईले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here