काठमाडौं, ३१ साउन– प्रा.डा. गोविन्द केसीको ११ औं सत्याग्रह मंगलबार २३ दिन पुगेकाे छ । उस्तै मागका लागि यसअघि दस पटक गरी एक सय ४० दिन अनशन बसिसकेका उनको ११औं अनशन अहिलेसम्मकै लामो भएको छ । १० औं अनशन २२ औं दिन तोडिएको थियो । अनशन लम्बिँदै जाँदा उनको स्वास्थ्यमा प्रतिकूलता पनि बढदै गएको छ ।
सोमबार साँझदेखि डा. केसीको छातीको दुखाइमा तीव्रता बढेपछि स्याहारमा संलग्न चिकित्सकले आईसीयूमा लैजाने तयारी गरे तर उनले मानेनन् । उनलाई सास फेर्नसमेत गाह्रो भइरहेको छ । ‘हामी सबै आईसीयूमा बस्नुस् भनेर प्रयास गरिरहेका छौं तर उहाँ मान्नुभएको छैन,’ त्रिवि शिक्षण अस्पताल, आईसीयूका इञ्चार्ज डा. सुभास आचार्यले भने । उनका अनुसार डा. केसीलाई अब जुनसुकै बेला आईसीयू लैजानुपर्ने स्थिति आउन सक्छ ।
‘हामी सबै सम्भावित अनिष्ट पर्खिरहेका छौं,’ डा. आचार्यले भने, ‘मैले आईसीयूमा सयौं ज्यान बचाएको छु तर उहाँका लागि केही गर्न सकिरहेको छैन ।’ अहिलेको संवेदनशील स्थितिमा समयमै उपचार प्रक्रिया सुरु नभए जतिसुकै आधुनिक चिकित्सा विज्ञान र प्रविधि उपयोग गरे पनि फरक नपर्ने उल्लेख गर्दै डा. आचार्यले भने, ‘फरक परे पनि आफूहरूले चाहेजस्तो परिणाम आउँदैन, ढिलो भइसकेको हुनेछ ।’
चिकित्सकहरूका अनुसार डा.केसीको रक्तचाप र अक्सिजनको सान्द्रतासमेत न्यूनस्तरमा भएकाले निरन्तर अक्सिजन दिइराख्नुपरेको छ । शरीरमा चिनीको मात्रा, इलेक्ट्रोलाइट र रगतमा सेतो रक्तकणिका संख्यासमेत सामान्य स्तरभन्दा निकै तल गइसकेको छ ।
‘अनशन लम्बिँदै जाँदा स्वास्थ्य स्थितिमा अत्यधिक जटिलता बढ्न सक्ने देखिन्छ’, प्रा.डा.प्रदीपकृष्ण श्रेष्ठका अनुसार उनमा कुनै अंगको जोखिम हुने संक्रमण वा एक्कासि मुटुसम्बन्धी समस्या देखिएर आकस्मिक चिकित्सकीय हस्तक्षेप आवश्यक हुन सक्छ ।
उता, सरकारी वार्ता टोलीसँग सोमबारसमेत कुनै वार्ता भएन । केसीका प्रतिनिधि डा. अभिषेकराज सिंहले सरकारी वार्ता समिति बनेको १९ दिन भए पनि हालसम्म मात्र ८ पटक वार्ता भएको बताए । सरकारी वार्ता समितिले चिकित्सा शिक्षा ऐन मात्र नभई अन्य विषयमा समेत छलफल प्रयास नगरेको उनले बताए । आजको कान्तिपुरमा खबर छ ।

