कालिकोट – कालिकोटमा कम तलब पाएको भन्दै म्यादी प्रहरीले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा एक जना म्यादी प्रहरीको मृत्यु भएको छ ।
ज्यान गुमाउनेमा सानीत्रिवेणी गाउँपालिका वडा नं. ४ का विवेक ऐडी रहेको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले जानकारी दिनुभयो । सरकारले तोकेअनुसारको तलब नपाएपछि आक्रोशित भएर नाराबाजी गरेका म्यादी प्रहरीमाथि सुरुमा प्रहरीले अश्रुग्यास हानेको थियो । तर भीड नियन्त्रण नभएपछि प्रहरीले गोली चलाउँदा एक जना म्यादी प्रहरीको मृत्यु भएको हो ।
चुनावको सुरक्षाका लागि कालिकोटमा ९ सय १३ जना म्यादी प्रहरी खटिएका थिए । सरकारले ५५ दिनका लागि भर्ना गरेका म्यादी प्रहरीलाई प्रहरी जवान सरह सेवा सुविधा दिने निर्णय गरेको थियो । जस अनुसार कालिकोटमा म्यादी प्रहरीले एकमुष्ट ५८ हजार रुपैयाँ पाएका थिए । तर जुम्लाका म्यादी प्रहरीलाई हिमाली जिल्ला भन्दै ६५ हजार रुपैयाँ प्रदान गरिएको थियो ।
जुम्लाका म्यादी प्रहरीले सरह ६५ हजार रुपैयाँ पाउनु पर्ने माग गर्दै उनीहरुले प्रदर्शन गरेका थिए । प्रदेशसभा र प्रतिनिधिसभाको चुनावमा देशैभर खटिएका म्यादी प्रहरीलाई शुक्रबार बिदाई गरिएको छ । पहिलो र दोस्रो चरणको चुनावका लागि देशैभर ९८ हजार एक सय ६८ म्यादी प्रहरी खटाइएको थियो ।

