काठमाडाैं,१५ पुस । प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको संसदीय सुनुवाई आज हुँदैछ । संसदीय सुनुवाई समितिको दिउँसो २ बजे बस्ने बैठकमा सुनुवाईका लागि राणालाई बोलाइएको हो ।
सुनुवाईका क्रममा राणा विरुद्ध परेका उजुरी र उहाँका भावी कार्ययोजनाका विषयमा छलफल हुने संघीय संसद सचिवालयका सहप्रवक्ता केशव अर्यालले जानकारी दिनुभयो ।
सुनुवाईपछि राणाको नाम अनुमोदन गर्ने/नगर्ने निर्णय हुनेछ । समितिको यसअघि गत शुक्रबार बसेको बैठकले उजुरीकर्तासँग छलफल गरेको थियो । प्रस्तावित प्रधानन्यायाधीश राणाविरुद्ध विभिन्न समयमा भएका फैसला र व्यक्तिगत विषय समेटेर ९ वटा उजुरी परेका छन् ।
प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले उमेर हदका कारण आगामी मंगलबार अनिवार्य अवकास लिने भएकाले त्यस अगावै प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाई सक्ने समितिले तयारी गरेको हो । संसदीय सुनुवाई समितिले नाम अनुमोदन गरेपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

