काठमाडौं,२६ असारःआर्थिक अनियमितता गरेको आरोपमा प्रक्राउ परेका रौतहटको गढिमाई नगरपालिका प्रमुख श्यामप्रसाद यादवसहित ५ जनालाई जिल्ला प्रशासन कार्यालयले साधारण तारेखमा छाडेको छ ।
नगरपालिका भित्रका योजनाको भुक्तानीको काम चन्द्रनिगाहपुरस्थित एक होटलमा बसेर गरिरहेको सूचनाका आधारमा नगरप्रमुख यादव, सहित प्रमुख प्रशासकीय अधिकृत नरबहादुर बिक, लेखापाल बिमल मिश्र, नायब सुब्बा करपुरी ठाकुर र कार्यालय सहायक अजयकुमार यादबलाई जिल्ला प्रशासन कार्यालयले आज दिउँसो पक्राउ गरेको थियो ।
पक्राउ परेका ५ जनासँग बयान लिई नियमित हाजिर हुने सर्तमा उनीहरुलाई छोडिएको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताउनुभयो ।
उनीहरुको साथबाट बरामद कागजपत्र सहित आर्थिक अनियमितताबारे थप अनुसन्धान गर्न हेटौडास्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्राचार गर्ने पनि प्रजिअ रिजालले बताउनुभयो ।

