प्रमुख दलहरुलाई नै समानुपातिकतर्फको उम्मेदवार छान्नै धौधौ

काठमाडौं,२९ असोज– प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवार छान्न दलहरु बिहानदेखि छलफलमा व्यस्त भएका छन् ।
बन्दसूची आज आज निर्वाचन आयोगमा बुझाउनुपर्नेछ । तरपनि राजनीतिक दलहरूले त्यसको टुंगो लगाउन सकेका छैनन्। नेपाली कांग्रेसले बिहान प्रधानमन्त्रीको सरकारी निवासमा उम्मेदवार छान्न छलफल गर्दैछ ।

कांग्रेसमा जिल्लाबाट आएका समानुपातिक उम्मेदवारको सिफारिसको संख्या तीन हजारभन्दा धेरै छ ।  नामबारे अध्ययन गर्न बनेको कार्यदल र संसदीय वोर्डको बैठक बिहान बसेर नाम तय गर्ने कांग्रेसले जनाएको छ । आज दिनभर बैठक बसेर बन्दसूची निर्वाचन आयोगमा बुझाउने कांग्रेसको तयारी छ ।
एमाले र माओवादी बैठक पनि बस्दै
एमालेमा प्रदेश र प्रतिनिधिसभाका समानुपातिकतर्फका उम्मेदवार टुंग्याउन नेकपा एमालेको बैठक पनि बस्दैछ ।
प्रतिनिधिसभाका १ सय १० तथा प्रदेश सभाका २ सय ३० उम्मेदवारका लागि ७–८ गुना बढी संख्यामा सिफारिस भएर आएको एमालेले जनाएको छ ।

सबैको नाम प्रस्ताव गरेर छलफल गर्दा लामो समय गुज्रिने देखिएपछि प्रदेश संयोजकहरूमार्फत ‘सर्ट लिस्टिङ’ गरेर स्थायी समितिबाट समानुपातिकतर्फका उम्मेदवार टुंग्याउने गरी एमालेले अन्तिम गृहकार्य गरिरहेको छ ।
आज त्यही सूचीमा छलफल गरेर अन्तिम नाम तय गर्ने एमालेले जनाएको छ । आज ४ बजेसम्म सूची बुझाउने एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here