प्रमुख दलका शीर्ष नेताका आ-आफ्नै स्वार्थ, दोहोरो दबाबमा राष्ट्रपति

काठमाडौं, ८ पुस – नयाँ सरकार गठन प्रक्रियामा दलीय अडानका कारण प्रमुख तीन दलका शीर्ष नेताबीच विवाद देखिएको छ । नयाँ सरकार गठनअघि नै राष्ट्रियसभा कि सरकार गठन गरेर राष्ट्रियसभा गठन गर्ने भन्ने विषयमा राजनीतिक दल विभाजित भएका छन् ।

नेपाली कांग्रेसका सभापतिसमेत रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा सरकार गठनअघि नै राष्ट्रियसभा गठन गर्ने अडानमा रहनुभएको छ भने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सरकार गठन गरेपछि मात्र राष्ट्रियसभा गठन गर्नुपर्ने अडानमा रहनुभएको छ । सरकारले नयाँ सरकार गठन गर्न राष्ट्रियसभा नै चाहिने भन्दै कानुनविद्सँग परामर्शसमेत थालिसकेको छ ।

संविधानमा राष्ट्रियसभा गठन प्रणाली बहुमतीय कि एकल संक्रमणीय भन्नेबारेमा केही कुरा उल्लेख गरिएको छैन । संविधान निर्माणका क्रममा राजनीतिक दलहरूले स्पष्ट नपार्दा उनीहरू अहिले विवादमा रुमलिएका छन् । राष्ट्रियसभा गठनसम्बन्धी ऐन निर्माण गर्नका लागि राजनीतिक दलले पर्याप्त ध्यान नदिँदा सरकारले राष्ट्रियसभा गठनका लागि राष्ट्रपति कर्यालयमा अध्यादेश पठाए पनि स्वीकृत हुन सकेको छैन । राष्ट्रपति विद्यादेवी भण्डारीलाई अध्यादेश स्वीकृत गर्न सरकारले दबाब दिएको छ भने वाम गठबन्धनले स्वीकृत नगर्न दबाब दिएको छ । दोहोरो दबाबमा राष्ट्रपति भण्डारी पर्नुभएको छ ।

प्रमुख राजनीतिक दलबीच सहमति जुट्न नसक्दा राष्ट्रियसभा गठनसम्बन्धी ऐन निर्माण नभई व्यवस्थापिका संसद् भंग भएको थियो । सरकारले निर्वाचनको मिति घोषणा भएपछि राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष पठाएको थियो । निर्वाचनको परिणाम सार्वजनिक भए पनि राष्ट्रियसभा गठन गर्नका लागि ऐन नहुनु र राष्ट्रपति कार्यालयमा विचाराधीन अवस्थामा रहेको अध्यादेश स्वीकृत नहुदा दलहरूले आ-आफ्नै व्याख्या गर्न लागेका छन् ।

राष्ट्रियसभाको निर्वाचन प्रणालीको विषयमा दलहरूले आ-आफ्नो अडान नछोड्दा नयाँ सरकार गठन प्रक्रिया अझै लम्बिने संकेत देखिएको छ । निर्वाचन प्रणालीका बारेमा सहमति जुटाउन प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाउनुभए पनि दलहरूको आ-आफ्नै अडानका कारण कुनै सहमति जुट्न सकेको छैन ।

नयाँ जनमतअनुसार नयाँ सरकार गठनका लागि वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले नै मार्ग प्रशस्त गर्नुपर्ने हो, तर राष्ट्रियसभा गठन नगरी सरकार नछोड्ने गृहकार्यमा प्रधानमन्त्री देउवा पुग्नुभएको छ । देउवाले आफ्नै नेतृत्वको सरकारमा राष्ट्रियसभा गठन गर्दा कांग्रेसका नेताहरूलाई समावेश गर्ने तयारी गर्नुभएको छ । तर वाम गठबन्धनले भने नयाँ सरकार गठनपछि मात्र राष्ट्रियसभा गठन गर्नुपर्ने अडान लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here