काठमाडौं,४ फागुन– प्रमुख तीन दलबीच तत्काल स्थानीय निकायको निर्वाचनको मिति घोषणा गर्न सहमत भएका छन् । यद्यपी एक चरण मधेशी मोर्चासँग छलफल गर्ने उनीहरुको निश्कर्ष छ ।
वालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बिहान भएको प्रमुख तीन दलका शीर्ष नेताहरुको छलफलमा दलहरु निर्वाचन आयोगले प्रस्ताव गरेको मिति आसपासमा नै चुनाव गर्न सहमति नजिक पुगेका हुन् ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेकपा माओवादी केन्द्रका नेता बर्षमान पुनले प्रमुख तीन दल निर्वाचन उन्मुख भएको बताउदै मेधशी मोर्चालाई समेत सहमतिमा ल्याउने प्रयास सुरु गर्ने समझदारी भएको जानकारी दिनुभयो ।
मोर्चाले संविधान संशोधन बिना निर्वाचनमा सहभागी नहुने बताउदै आएको छ । प्रमुख प्रतिपक्ष एमालेले चुनाव गर्ने सुनिश्चित भए संविधान संशोधनमा बिरोध नगर्ने संकेत गरेपछि प्रमुख तीन दल मोर्चालाई मनाउने अन्तिम प्रयासमा जुटेका हुन् । गएराती अवेरपनि प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच वालुवारमा करिब पौने २ घण्टा छलफल भएको थियो ।
छलफलमा अध्यक्ष ओलीले निर्वाचन हुन नदिने कुनै पनि बहाना मान्य नभएको बताउदै चुनावको मिति घोषणा भए संविधान संशोधनमा सहयोग गर्ने संकेत गर्नुभएको थियो । देउवा र ओलीसँगको छलफल अघि प्रधानमन्त्री दाहालले प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवसँग करिब आधा घण्टा वालुवाटारमा छलफल गर्नुभएको थियो ।
आयोगले आगामी जेठ १ र २१ गते स्थानीय निर्वाचन गर्ने प्रस्ताव सरकारलाई गरेपनि दलीय सहमति हुन नसक्दा घोषणा भने हुन सकेको छैन ।
प्रमुख आयुक्त यादवले आगामी फागुन ८ गते भित्र निर्वाचन मिति घोषणा भए प्रस्तावित मितिमा निर्वाचन गर्न सकिने प्रधानमन्त्री दाहाललाई जानकारी गराउनुभएको थियो ।

