प्रभावित क्षेत्रमा पुन: बाढी आउन नदिने उपायको खोजी गर्ने-प्रधानमन्त्री शेरबहादुर देउवा

web

काठमाडौं, १ भदौं–  प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी प्रभावित क्षेत्रमा पुन: बाढी आउन नदिने उपायको खोजी गर्ने बताउनुभएको छ । बाढी प्रभावित बाँकेका बिभिन्न स्थानको स्थलगत निरिक्षणपछि राप्ती–सोनारी गाउँपालिकामा बाढीपीडितलाई आज सम्बोधन गर्दै उहाँले मुलुकका बाढीपीडितको उचित बसोबास, जीविकोपार्जनका लागि सरकारका तर्फबाट कुनै कसर बाँकी नराख्ने बताउनुभयो ।

दैवी विपत्तिका बेला सबैले आ–आफ्नो तहबाट सहयोग गर्नु पर्नेमा उहाँको बिशेष आग्रह थियो ।  प्रधानमन्त्री देउवाले बाढीका कारण मृत्यु भएका राप्ती–सोनारी गाउँपालिका–४ लालपुरका तीनजना बालिकाका परिवारलाई नगद सहयोग वितरण गर्नुभयो ।

राप्ती सोनारीको कमैया डाँडामा आयोजित कार्यक्रममा उहाँले मृतक तीनजना बालिकाका बुबा कमिलाल थारुलाई ६ लाख रुपैयाँको चेक हस्तान्तरण गर्नुभयो । सरकारले बाढीपहिरोमा मृत्यु भएका प्रत्येक परिवारका सदस्यलाई दुई लाख दिने निर्णय गरेको छ । गत साउन २८ गते राति राप्ती नदीमा आएको बाढीले बगाउँदा कमिलालकी १२ वर्षीया छोरी अञ्जु, नौ वर्षीया सरिता र सात वर्षीया सुस्मिताको मृत्यु भएको थियो ।

सोही कार्यक्रममा प्रधानमन्त्री देउवाले त्यहाँ उपस्थित बाढीपीडित परिवारका सदस्यलाई चिउरा, चाउचाउ, दालमोठ, नून, खाने तेल, पिउने पानी र त्रिपाल प्रदान गर्नुभएको थियो । यसअघि प्रधानमन्त्री देउवाले नेपालगञ्ज राझास्थित नेपाली सेनाको चार नं बाहिनी अड्डामा मध्यपश्चिमाञ्चल क्षेत्रीय प्रशासक महेन्द्रप्रसाद गुरागाईंसहित सुरक्षा प्रमुखहरुसँग बाँके, बर्दिया, दाङ र सुर्खेतका बाढीपीडितको अवस्थाबारे जानकारी लिनुभएको थियो ।

बाँकेको स्थलगत अवलोकनपछि प्रधानमन्त्री देउवाले बर्दियाको गुलरियास्थित गोलपार्कमा जिल्लाका बाढीपीडितलाई राहत वितरण गर्नुभएको छ । जिल्ला दैवी प्रकोप उद्धार समितिले संकलन गरेको राहत वितरणको सुरुवात गर्दै प्रधानमन्त्रीले बाढीबाट आंशिक रुपमा घर क्षति भएकालाई २५ हजार नगद सहित सक्दो सहयोग गर्ने बताउनुभयो । जिल्लामा सवैभन्दा बढी क्षति पुर्‍याएको बबई नदीमा तटबन्ध निर्माणका लागि सरकारले पहल गर्ने उहाँको आश्वासन थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here