काठमाडौं,१२ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न देशका अवैतनिक राजदूतसंग छलफल गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा उहाँले नेपाल भ्रमण वर्ष २०२०, नेपालको आर्थिक कुटनीति र नेपालमा विदेशी लगानी बढाउने बिषयमा छलफल गर्नुभएको हो ।
प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा.राजन भट्टराईले नेपालको राजदूत नियुक्ति नभएका मुलुकहरुका अवैतनिक राजदूतसंग नेपालको विदेश नीतिका सम्बन्धमा प्रधानमन्त्रीले प्रष्ट पारेको जानकारी दिनुभयो । उहाँले नेपालमा लगानीको वातावरण भएकाले लगानी बढाउन र त्यहाँ रहेका नेपालीहरुको समस्या र सुरक्षाको विषयमा सहयोग गर्न पनि आग्रह गर्नुभयो ।
अवैतनिक राजदूतहरुले भने आफूहरु नेपालबारे जानकार रहेको भन्दै सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । काठमाठौंमा सम्पन्न दुई दिने सम्मेलन पछि अवैतनिक राजदूतहरुले प्रधानमन्त्री ओलीसंग भेट गरेका हुन् ।
नेपालको १ सय ६६ मुलुकसंग कुटनीति सम्बन्ध भए पनि ३२ मुलुकमा मात्र राजदूत छन् । राजदूत नियुक्त नभएका मुलुकमा अवैतनिक राजदूतले काम गर्दै आएका छन् ।

