काठमाडौं,४ फागुन-नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले मनमोहन अधिकारीले देखाएको बाटोबाट आफू अघि बढने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । नवनियुक्त प्रधानमन्त्री ओलीले स्वर्गीय मनमोहन अधिकारीको निष्ठा, दृढता र जनताप्रतिको बफादारिता र इमान्दारितालाई पदसँग तुलना गर्न नमिल्ने पनि स्पष्ट पार्नु भयो ।
ललितपुरको सानेपास्थित मनमोहन प्रतिष्ठानमा रहेको अधिकारीको शालिकमा श्रद्धाञ्जली अर्पण गर्दै उहाँले मनमोहन अधिकारीको सादा जीवन र जनताको सेवामा लागि रहने इमान्दार प्रयास सबैका लागि प्रेरणाको स्रोत भएको बताउनु भयो । उहाँले प्रधानमन्त्रीको रुपमा स्वर्गीय अधिकारीले नेपाल राष्ट्रका लागि असाधारण योगदान दिएको उल्लेख गर्नु भयो ।

