प्रधानमन्त्री देउवा मधेशमा, चुनावी सभालाई सम्बोधन गर्ने

काठमाडौं, २७ भदौं–  प्रधानमन्त्री शेरबहादुर देउवा चुनावी सभालाई सम्बोधन गर्न आज प्रदेश नम्बर २ का जिल्ला तर्फ, जान लाग्नु भएको छ ।

काँग्रेस सभापतिसमेत रहनुभएका प्रधानमन्त्री देउवा स्थानीय तहको तेस्रो चरणको निर्वाचन हुन लागेको प्रदेश नम्बर २ का आठवटै जिल्लाका चुनावी सभा गर्न त्यसतर्फ जान लाग्नु भएको हो ।
कांग्रेसले आजदेखि भदौं ३० गतेसम्म आयोजना गर्ने महत्वपूर्ण चुनावीसभालाई प्रधानमन्त्री देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइरालालगायत शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
सभापति देउवाले आज सप्तरीको राजविराजमा हुने आमसभालाई सम्बोधन गर्नुहुनेछ भने आजै सिरहा पुगेर अर्को आमसभालाई सम्बोधन गर्नुहुने कांग्रेसले जनाएको छ । उहाँले भोलि बिहान रामजानकी मन्दिरको दर्शन गर्नुका साथै कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम छ ।
सभापति देउवाले भोलि दिउँसो जनकपुरधाममा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्नुहुनेछ । जनकपुरको सम्बोधनपछि देउवाले महोत्तरीको बर्दिबासमा पुगेर चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।
उहाँले भदौ २९ गते सर्लाही र रौतहट तथा ३० गते पर्सा, बारा र वीरगन्जमा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्नुहुनेछ । सो सम्बोधनपछि सभापति देउवा काठमाडौँ फर्कने कार्यक्रम रहेको कांग्रेसले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here