काठमाडौ,४ फागुन– प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच आज ‘वान टु वान’ वार्ता हुने भएको छ ।
दुई अध्यक्षबीचको छलफलको समय र स्थान भने खुलाईएको छैन । बाम एकता कार्यदल संयोजक एवं एमाले नेता सुबास नेम्वाङले दुई अध्यक्षबीच आज हुने छलफलले पार्टी एकताको बिषयमा ठोस निर्णय गर्ने बताउनुभयो ।
पार्टीको मार्गदर्शक सिद्धान्तमा दुई पार्टीबीच केही मतभेद देखिएपनि मध्यमार्गी निकासका लागि पहल गर्दै एकता प्रक्रियालाई निर्णयमा र्पुयाउन आजको छलफल केन्द्रित रहने उहाँको भनाई थियो ।
गत बुधबार भएको बैठकमा एमालेले आफ्नो मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवाद जबजलाई कतै न कतै उल्लेख गर्नुपर्ने बताएपछि माओवादीले पनि माओवाद राख्नुपर्नेमा जोड दिएको थियो ।
यी बिषय औपचारिक रुपमा टुङ्गोमा नपुग्दासम्म सरकारमा नजाने माओवादी केन्द्रले बताएका छ ।
मुख्य बिषयमै बिवाद देखिएपछि एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा समर्थन गरेपनि तत्काल मन्त्री भने नपठाउने माओवादी केन्द्रले जनाएको थियो ।
माओवादी केन्द्रका प्रवक्ता पम्फा भुषालले दुई अध्यक्षबीच पार्टी एकता प्रक्रियालाई गति दिन आज निर्णायक छलफल हुने बताउनुभयो । त्यसका लागि अध्यक्ष दाहाल बिहानैबाट गृहकार्यमा जुटेको भुषालको भनाई छ ।

