काठमाडौं,१७ बैशाख । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले ललिता निवासको सरकारी जग्गा र अरु अतिक्रमित सरकारी जग्गा फिर्ता लिने तयारी भइरहेको बताउनुभएको छ ।
आज नेकपाका राष्ट्रियसभा र प्रतिनिधिसभाको संयुक्त संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उहाँले अतिक्रमण भएका सरकारी जग्गाको छानबिन भइरहेको र अतिक्रमण गर्ने दोषीलाई कानुनअनुसार कारबाही गरिछाड्ने दृढता व्यक्त गर्नुभयो ।
उहाँले राजाको शासनकालमा अरु व्यक्तिबाट पार्टीका महासचिव विष्णु पौडेलले ललिता निवासछेउको ८ आना जग्गा किनेको भन्दै पौडेलले शक्तिको आडमा सरकारी जग्गा नहडपेको दाबी गर्नुभयो । उहाँले ‘वाइडबडी’ विमान खरिद प्रक्रियामा भएको भनिएको अनियमितताबारे पनि सरकारले छानबिन गर्ने जिकिर गर्नुभयो ।
उहाँले कालोबजारी, तस्करी, भ्रष्टाचार र अनियमितता नियन्त्रण गर्ने सरकारको अभियान प्रतिपक्षलाई तर्साउने नभइ मुलुकमा स्वच्छता र सुशासन कायम गर्ने अभियान भएको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले कन्चनपुरकी निर्मला पन्त हत्या प्रकरणलाई राजनीतिकरण गर्नुका साथै राजनीतिक र संघ–संस्थाको दबाबका कारण निष्पक्ष ढंगले छानबिन गर्न नदिएकैले दोषी पत्ता लाग्न नसकेको जिकिरसमेत गर्नुभयो ।

